चारआली युवा क्लब धारागोला गोलकपको क्वाटर फाइनलमा

शान्तिनगर / प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई १/० गोल अन्तरले पराजित गर्दे चारआलीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

निक्कै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५ औ मिनेटमा चारआलीका जमिन लक्समले डिबक्स एरियाबाट प्रहार गरेको बल शनिश्चरेको डिफेन्सको खुट्टामा लागेर अनगोल भयो । सोही अनगोलको मदतमा चारआली क्वाटरफाइनलमा प्रबेश गरेको हो ।

खेलको म्यान अफ द म्याच बिजयी टिमका प्रसान्त लक्सम घोषित भए । उनलाई स्वर्गीय रबिन्द्रमाया लावतीको स्मृतिमा प्रायोजित नगद पुरस्कार आयोजक समितिका सह–सचिब राजकुमार लावतीले प्रदान गरे ।

मंगलबार युनिटी युथ क्लब बर्ने र खुदुनाबारी युवा क्लबवीच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिब शष्टकुमार राईले जानकारी दिए । खेल दिउँसो ३ः०० बजेबाट शुरु हुनेछ ।

पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकिय स्थल धारागोला भ्यू–टावरको प्रचार/प्रसार र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यले सो प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद ३० हजार, ट्रफी, प्रमाण पत्र र उपबिजेताले नगद २० हजार, ट्रफी, प्रमाण–पत्र प्राप्त गर्नेछ । असोज ३ गतेदेखि १८ गतेसम्म आयोजित प्रतियोगितामा झापा र इलामका गरि १६ वटा टोलीको सहभागिता छ ।