तीनदिन देखि दमकको खानेपानीमा ‘लेदो’

दमक / झापाको दमकका दुई वटा वडामा तीन दिन देखि आइरनयुक्त पानी वितरण हुदैआएको पाईएको छ । खानेपानीको ट्यांकीमा जडित भल्वको समस्याका कारण तीनदिन देखि वितरित पानीमा लेदोसहितको फोहोर पाइएको हो । स्वच्छ पानी वितरणमा चासो नदिएको भन्दै उपभोक्ताहरु आक्रोसित भएका छन् ।

दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दोश्रो साना सहरी खानेपानी आयोजनाबाट निर्मीत पानीको टंयाकीमा ‘मेकानिकल’ समस्या आएपछि स्वच्छ पानी वितरण प्रभावित भएको हो ।

दमकको वडा नम्बर ८ र ९ का दुई हजार बढी उपभोक्ताहरुको अधिकांश धारामा स्वच्छ पानी वितरण हुन सकेको छैंन् । ती वडामा दमक–९ स्थित शान्तिमार्गको ट्यांकीबाट पानी वितरण हुदैआएको छ ।

दमक–९ का उपभोक्ता टंक ढकालले तीनदिनदेखि वितरित खानेपानी स्वच्छ नहुदाँ पनि खानेपानी कार्यालयले समयमै मर्मत संभार गर्न चासो नदिएको बताउँछन् ।

उनले पानी जस्तो विषयमा सम्बद्ध निकायले समयमा नै आवश्यक मर्मत नगर्दा यस क्षेत्रका बासिन्दाहरु दुषित पानी पिउन बाँध्य हुनुपरेको गुनासो गर्छन् ।

पानीको मुख्य स्रोत धारा मात्र भएको र त्यही धाराबाट आउने पानी यतिका दिनसम्म सुधार गर्न नसक्नु समितिको हेलचेक्राई नै भएको उनको जिकीर छ । उनले भने,– ‘तिन,चार दिनसम्म स्वच्छ पानी नआउदाँ सयौं उपभोक्ताहरुmले साँस्ती खेप्नुपरेको छ ।’ ढकालले प्राविधिक रुपमा पानी वितरणमा समस्या आएपनि समितिले त्यसवारे सार्वजनिक रुपमा उपभोक्ताहरुलाई जानकारी नदिएर खेलवाड भएको दावी गर्छन् ।

खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख कृष्ण थापाका अनुसार मेकानिकल समस्याका कारण स्वच्छ पानी वितरण गर्न कठिनाई भएको छ ।

फिल्टर हुदै ट्यांकीमा जाने पानीमा भल्वका समस्याका कारण पानीमा लेदो देखिएको उनले बताए । थापाले दुई दिनदेखि विग्रीएको संरचना मर्मतको काम भईरहेको र आज साँझदेखिनै खानेपानीमा सुधार आउने वताए । उनले भने ,–‘वितरित पानी पिउननै नहुने चाहि होइन् तर सोमबार साँझदेखि यस्तो समस्या विस्तारदै हट्ने छ ।’ ट्यांकीमा जम्मा भएको पानी धारा मार्फत जाने हुदाँ अझैं दुई,तीन दिनसम्ममा पानीमा सामान्य त्यस्तो समस्या फेरि पनि देखिन सक्ने इन्जिनियर समेत रहनुभएका थापाले जानकारी दिए ।

त्यस आयोजना गत २०७२ सालदेखि सञ्चालनमा आएको थियो । त्यस ट्यांकीबाट राजमार्ग दक्षिणका दमक–८ र ९ का २२ सय उपभोक्तालाई खानेपानी उपलव्ध गराउदैआएको छ ।