कन्काईमाइमा पितृमोक्ष महाअनुष्ठान शुरु

सुरुङ्गा / झापाको कन्काईमाई कोटीहोममा मंगलबारदेखि बृहत पितृमोक्ष महाअनुष्ठान शुरु भएको छ । नेपालका धार्मिक तिर्थस्थलहरुको प्रचार प्रसार गर्दै सनातन हिन्दु सम्प्रदायका पितृहरुको उद्धार गर्ने उद्येश्यले महाअनुष्ठान आयोजना गरिएको हो ।

अनुष्ठानको सोमबार एसमारोहबिच उद्घाटन गरिएको थियो । महाअनुष्ठान २३ गतेसम्म चल्नेछ ।

विश्व जागरण महाअभियान ट्रष्ट तथा यज्ञ सम्पादन समितिको आयोजनामा सोह्श्राद्धलाई लक्षित गरी झापामा पहिलो पटक बृहत अनुष्ठान शुरु भएकोे हो ।

उक्त अनुष्ठानमा ३ करोड बात्ती बाल्नुका साथै १००८ पारायण, गरुढ पुराण, प्रेत कल्प, २१ आबृती महागरुण पुराण, १ आबृती भागवत पुराण बाचन गरिने विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक एवम् प्रमुख बाचक ईश्वरकृष्ण महाराजजीले जानकारी दिए ।

सोह् श्राद्धमा कन्काइधाम कोटीहोम झापा जाऔं, श्राद्ध तथा पितृमोक्ष महाअनुष्ठान गरौं भन्ने नाराकासाथ यज्ञको आयोजना गरिएको छ । अनुष्ठान सम्पन्न गर्न करिब ५० लाख रुपैंया लाग्ने बताइएको छ ।

अनुष्ठान सम्पन्न भएपछि कन्काईमाई कोटीहोममा योगी नरहरी नाथको शालिक स्थापना गर्ने लक्ष्य महाअभियान ट्रष्टको छ । अनुष्ठानमा ३१ जना ब्राम्हणले दैनिक यज्ञाहुती गर्ने छन् ।

विश्व जागरण महाअभियान ट्रष्टले यसअघि पहिलोवर्ष पशुपतिनाथ र दोस्रो वर्ष गोकर्णमा यस किसिमको महायज्ञ सम्पन्न गरिसकेको छ । झापामा गर्न लागिएको यो तेस्रो अनुष्ठान हो ।