युनिटी युवा क्लब क्वाटर फाइनलमा 

शान्तिनगर / युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति –७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोलकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल अन्तरले पराजित गर्दे युनिटी क्वाटर फाइनलमा प्रबेश गरेको हो ।

खेलको पहिलो हाफको ४ औ मिनेटमा युनिटीका लागि मिलन लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा खुदुनाबारी १–० ले पछि परेको अवस्थामा दोस्रो हाफमा युनिटीलाई बारम्बार दवाबमा राखेपनि युनिटीका लागि कुलदिप लिम्बुले अर्को गोल थप्दै खेल २–० को अवस्थामा पुर्याएका थिए । खुदुनाबारीले पटक–पटक गोल गर्ने प्रयास गरेपनि खेलको इन्जुरी समयमा खुदुनाबारीका लागि चेतन घतानीले सान्वना गोल फर्काएका थिए ।

मंगलबारको खेलको म्यान अफ द म्याच बिजयी टिमका कुलदिप लिम्बु घोषित भए । उनलाई स्वर्गीय रबिन्द्रमाया लावतीको स्मृतिमा प्रायोजित नगद पुरस्कार आयोजक समितिका स–सचिब राजकुमार लावतीले प्रदान गरे । बुधबारको खेलमा बहुवन स्पोटिङ क्लब इलाम र सयपत्री युवा क्लब अर्जुनधाराविच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिब शष्टकुमार राईले जानकारी दिए । खेल दिउँसो ३ः०० बजेबाट शुरु हुनेछ ।

पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकिय स्थल धारागोला भ्यू–टावरको प्रचार÷प्रसार र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यले सो प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद ३० हजार, ट्रफि, प्रमाण पत्र र उपबिजेताले नगद २० हजार, ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछ । असोज ३ गते देखि १८ गतेसम्म आयोजित प्रतियोगितामा झापा र इलामका गरि १६ वटा टोलीको सहभागिता छ ।