डेंगुको श्रोत नष्ट गर्ने अभियान दमकमा शुरु

दमक /  झापाको दमक नगरपालिकामा डेंगुको श्रोत नष्ट गर्ने अभियान शुरु गरिएको छ । डेंगु महामारीको उच्च जोखिममा रहेको दमकमा डेगुं बस्न सक्ने स्रोतहरु नष्ट गर्ने अभियान थालिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालका अनुसार डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्ने भएकाले त्यसको श्रोत नष्ट गर्न अभियान शुरु गरिएको छ ।

उनले सो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने भएकाले बजार क्षेत्रमा श्रोतको अनुगमन गरेर त्यसलाई नष्ट गर्ने अभियान शुरु गरिएको बताए । उनले भने –‘लामखुट्टे शहरमा बढी देखिने गरेकाले अभियान शहर केन्द्रित गरेका छौ ।’

अर्यालका अनुसार यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकीहरुमा यसले फुल पार्दछ ।

उनले अभियानका क्रममा दमकको चौंक, वजार क्षेत्रमा डेगुं संभावित स्थानहरुको स्रोत नष्ट गर्ने कार्य थालिएको बताए ।

दमकमा दुई बर्षअघि डेंगुले महामारीको रुप लिएको थियो । सरकारी दमक अस्पतालमा डेंगु रोग जाँच तथा उपचारका लागि केन्द्र तोकिएको छ ।

निशुल्क रुपमा किटको माध्यमबाट अस्पतालमा डेंगु परिक्षणको ब्यवस्था मिलाईएको दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताए ।