भद्रपुरमा सिलाई मेशीन वितरण

भद्रपुर / भद्रपुर नगरपालिकाले सिलाइ–कटाइ शीप सिकेका महिलालाई सिलाई मेशीन वितरण गरेको छ । प्लम्बिङ र वायरिङसम्बन्धी शीप सिकेकालाई पनि त्यससम्बन्धी सामग्री वितरण गरिएको छ ।

सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत सिलाइ–कटाइसम्बन्धी तीनमहिने प्रशिक्षण लिएका भद्रपुरको सीमाक्षेत्रमा बसोबार गर्ने ९ जना महिलालाई बुधबार एक समारोहका बीच सिलाइ मेशीन वितरण गरियो । ७ जना प्लम्बर र ७ जना इलेक्ट्रिसियनलाई सामग्री हस्तान्तरण गरिएको हो ।

आ.व. ०७४/०७५ को सीमा क्षेत्र विकास कार्यत्रमको बजेटबाट जेठ, असार र साउनमा उनीहरुलाई नगरपालिकाकै आयोजनामा तालिम प्रदान गरिएको थियो ।

नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख राजन न्यौपानेले सञ्चालन गरेको कार्यक्रमका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठले सामग्री हस्तान्तरण गर्दै सिकेको शीप र नगरपालिकाको लगानीको सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गरे ।