शहीद बेदप्रसाद र नारायण आचार्यको १६ औं स्मृति सभा सम्पन्न

बुधबारे / झापा बुद्धशान्ति १ का शहीद बेदप्रसाद र नारायण आचार्यको सम्झनामा बुधबार १६ औं स्मृतिसभा सम्पन्न गरिएको छ । बुद्धशान्ति १ को भोटेटारमा शहीद बेदनारायण आचार्य स्मृति प्रतिष्ठानले स्मृतिसभाको आयोजना गरेको हो ।

१६ बर्ष अघि तत्कालिन शाही नेपाली सेनाद्वारा हत्या गरिएका उनीहरुको सम्झनामा भएको स्मृति सभा प्रतिष्ठानका अध्यक्ष छत्रबहादुर तिम्सिनाको सभापतित्व तथा शहीद आचार्यहरुकी ममतामयी माता हिरामाया आचार्यको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा नेकपाका झापा जिल्ला अध्यक्षद्धय चिन्तन पाठक र विजय साम्पाङको विशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपाका जिल्ला तथा गाउँस्तरका नेता तथा कार्यकर्ताको उपस्थितिमा शहीदहरुको सम्झना र उनीहरुले परिर्वतनका निम्ति गरेको योगदान बारे चर्चा गरिएको थियो । कार्यक्रमका विशिष्ट अतिथि नेकपाका जिल्ला अध्यक्षद्वयले शहीदहरुले देशको परिर्वतनका निम्ति दिएको योगदानको सदैव सम्मान र चर्चा हुनुपर्ने धारणा राखेका थिए ।

शहीद परिवारको पालन पोषण र शिक्षा दिक्षाका लागि राज्यले कार्य गर्नुपर्ने अध्यक्ष पाठकले बताए भने अर्का अध्यक्ष साम्पाङले कता कता शहीदको योगदान र बलिदानलाई वर्तमानमा विर्सिएको होकि भन्ने भान हुनेगरेको प्रति शिर्ष नेतृत्वको ध्यानाकर्षण गराउँदै शहीदलाई सदैव सम्मान र सम्झना आवश्यक भएको बताए ।

कार्यक्रमका वक्ता बुद्धशान्ति १ का वडाध्यक्ष भीमकुमार नेवारले शहीदहरुले देशलाई दिएको योगदानको सम्मान गर्दै शहीद सबैको साझा हुने हुँदा उनीहरुको सपना साकार गर्न सबै लाग्नुपर्ने बताए । पवन तिम्सिनाले शहीदहरुको योगदानको चर्चा गरेको कार्यक्रममा केशव सापकोटा, पूर्ण सञ्जेलले बोलेका थिए ।

वीरेन्द्र घतानीले सञ्चालन गरेको कार्यक्रममा नेकपाका खडानन्द वाग्ले, लक्ष्मी राई, चन्द्र कोइराला, गजाधर काफ्ले, गोविन्द खनाल, संघसंस्थाका प्रतिनिधि सहित शहीद परिवारको उपस्थिति रहेको थियो ।