मोरङमा प्रेस युनियनका सदस्यले दिए सामूहिक राजीनामा

मोरङ /  नेपाल प्रेस युनियन मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । शुक्रबार अधिवेशन हुँदैछ । चुनाब भने राजिनामाका कारण अनिश्चित भएको छ ।

युनियनको अध्यक्षमा पत्रकार भोजराज बस्नेतले दाबी गरेकामा आफूलाई अध्यक्षमा सर्वसम्मत चयन गर्न पहल गरे पनि सहमति हुन नसकेपछि उनको नेतृत्वमा ४२ सदस्यले राजीनामा दिएका हुन् ।

जिल्ला अध्यक्षमा पत्रकार कुमार लुइँटेलले पनि दाबी गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङको निर्वाचनका बेला अनन्त न्यौपानेलाई उम्मेदवार बनाउन बस्नेतलाई युनियनको अध्यक्षको जिम्मेवारी दिने भद्र सहमति भएपनि कार्यान्वयनकोे अवस्था नरहेकाले सामूहिक राजीनामा दिएको बस्नेतले बताए ।

उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्माले जिल्ला समितिमा ४० प्रतिशत सदस्य रहेको पूर्वी मोरङका पत्रकारलाई युनियनले उपेक्षा गरेकाले राजीनामा दिएको बताउनुभयो । अब स्वतन्त्र रूपमा पत्रकारिता गरिन्छ, शेर्माले भने ।

जिल्लाको नेतृत्व सदरमुकाम बिराटनगर बाहिर दिन युनियनको नेतृत्व सहमत नभएकाले राजीनामा दिएको युनियनका जिल्ला सदस्य तेजन खड्काले बताए । खड्काले भने, प्रेस युनियनमा प्रजातान्त्रिक विचारको कदर हुन छाडेको छ । संस्था भन्दा केही ब्यक्ति हाबी हुँदै गएकोले राजीनामा दिएका हौ ।

युनियनका जिल्ला अध्यक्ष मीनकुमार नवोदितले राजीनामा दिएका असन्तुष्ट सदस्यसँग छलफल गरेर सहमतिका साथ अघि बढ्ने बताए ।