जिम्मेवारी नपाएको भन्दै प्रदेश १ का उपप्रमुखले बुझाए ज्ञापन पत्र

विर्तामोड / प्रदेश १ का स्थानीयतहका उपप्रमुखहरुलाई संवैधानिक व्यवस्था विपरित संघीय संरचना अनुरुपको जिम्मेवारीबाट बञ्चित गरिएको भन्दै प्रदेश–१ का उपप्रमुखहरुले मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका छन् ।

प्रदेश–१ का १४ वटै जिल्लाका स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखको समर्थनमा विराटनगर उपमहानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले टोलीको नेतृत्व गरेकी थिइन । झापा, मोरङ र सुनसरीका उपाध्यक्ष र उपप्रमुखहरुले स्थानीय तहका उपाध्यक्ष वा उपप्रमुखलाई न्यायिक क्षेत्रको मात्र जिम्मेवारी दिएर अन्य संगठनात्मक कार्यमा संलग्न हुन पाउने अधिकारबाट बञ्चित गरिएको भन्दै आपत्ती जनाएका थिए ।

उनीहरुले संगठनात्मक कार्यमा उपप्रमुखहरुले पनि सहभागी हुन पाउने वातावरण निर्माण गरिदिन मुख्यमन्त्री समक्ष माग गरेका हुन् ।

नमूनाका रुपमा तयार पारेको संगठनात्मक संचरना स्वीकृत गरिंदा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यपालिकाको काममा संलग्न हुन पाउने अधिकारबाट बञ्चित हुनेप्रति ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री समक्ष उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

निर्माण गरिएको संगठनात्मक संरचनामा अध्यक्ष वा प्रमुख पछि प्रशासकीय अधिकृतको व्यवस्था गरिएको छ । उक्त संरचनाले मर्यादा क्रममा समस्या आउने तर्फ विज्ञप्ति मार्फत उनीहरुले सचेत गराएका छन् ।

विभिन्न स्थनीय तहमा उपाध्यक्ष र उपप्रमुखसँग परामर्श नै नगरी सिधै टिप्पणी उठाई टिप्पणी सदर गर्ने वा कार्यपालिकाको बैठकबाट संगठन संचरना स्वीकृत गराउने र मन्त्रालयमा पठाउने कार्यले उपाध्यक्ष र उपप्रमुख तथा जनप्रतिनिधिहरुको आत्मा सम्मानमा चोट पुर्याएको ज्ञापन पत्रमा उल्लेख छ ।

मुख्यमन्त्री राईलाई बुझाइएको विज्ञप्तिमा भनिएको छ–‘कार्यपालिकाको काम र जिम्मेवारीबाट अलग गर्ने एक हिसाबले न्यायिक समितिमा मात्र सिमित गर्ने र जनता र आफ्नो जिम्मेवारीबट टाढा बनाउने गरी संगठन संचरना स्वीकृत गर्ने कार्यबाट हामी उपाध्यक्ष र उपप्रमुखहरु गम्भिर भएका छौं ।’