कार्यक्रमका सहभागीलाई ‘अचम्मको पोको उपहार’

गोपिन पोखरेल-

विर्तामोड /  सामान्यतया कुनै पनि कार्यक्रम आयोजना गर्दा आयोजकले निम्त्याइएका अतिथिहरुलाई खादा ओडाउने पुष्पगुच्छा उपहार दिने र टोकन अफ लभ जस्ता उपहार दिने गरिन्छ । कतिपय आयोजकले अंखोरा लोटा, घडी कुनै पनि आकर्षक तस्वीर अंकित फोटोफ्रेम, काठबाट निर्मित विभिन्न सामाग्री खदा आदी उपहार स्वरुप दिने गरेको पाइन्छ ।

तर, कतिपय संस्थाहरुले भने कार्यक्रम आयोजना गर्दा प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य महानुभावलाई फरक किसिमको मायाको चिनो दिएर कार्यक्रमलाई रोचक र अचम्मको बनाउने गरेको पनि पाइन्छ ।

अचम्मको पोको उपहार लिँदै जिल्ला सहकारी संघका सचिव युवराज ढकाल र प्रदान गर्दै संस्थाका अध्यक्ष खरेल

यस्तै, आगन्तुक अतिथि र सहभागीहरुलाई झापा विर्तामोडको एक सहकारी संस्थाले ‘अचम्मको पोको’ उपहार दिएर कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार विर्तामोडको आदर्श पार्टी प्यालेसमा त्यस्तै दृश्य देखियो । जहाँ विराट अर्जुन उपभोक्ता सहकारीसंस्था लिमिटेडको नवौ वार्षिक साधारणसभा चलिरहेको थियो ।

सहकारीले आफ्नो वार्षिक साधारणसभामा आएका पाहुनालाई अचम्मको पोको उपहार लिएर मात्र कार्यक्रम स्थलबाट बाहिर जान आग्रह गर्यो ।

यतिसम्मकी त्यो पोको कार्यक्रम स्थलमा खोल्न नपाउने, हेर्न नपाउने, त्यसबारेमा केही बोल्न पनि नपाउने । घर पुगेपछि मात्र खोल्न पाउने सर्तमा सबैलाई अचम्मको पोको दिइयो ।

कार्यक्रममा आगन्तुक प्रमुख अतिथि, अतिथि,पत्रकार, संस्थाका शेयर सदस्य, संस्थाका सञ्चालक समिति, लेखा समिति , विषयगत समिति र कर्मचारीहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रम स्थलमा एक किसिमको चासो र रोचक दृश्य त्यहाँ देख्न सकिन्यो । सबैका मुहारमा एक किसिमको उत्सुकता देखिन्थ्यो । ताकी आयोजकले यो अचम्मको पोको उपहारमा के दिएका छन् भनेर ।

कार्यक्रमलाई छुट्टै ढंगले समापन गर्न सहकारीले अपनाएको यो पद्धती साच्चै रोचक थियो । वास्तवमा त्यो अचम्मको पोकोमा सहकारीले आफ्नो संस्थाको नाम र उद्देश्य अनुरुपकै उपहार दिएको थियो ।

राम्रोसँग बेरिएको झोलासहित उपहारमा एक प्याकेट सनप्mलावर तेल, १ केजी चिनी, एक प्याकेट आयोनुन, दुई डल्ला लुगाधुने साबुन र एउटा नुहाउने लाइफबोए साबुन राखिएको थियो ।

ती सबै चिजलाई प्याक गरेर संस्थाको नाम अंकित झोलामा अचम्मको पोको भन्दै सबैलाई प्रदान गरियो । यो सहकारीको उपहार दिने नयाँ शैली हेर्न लायकको देखिन्थ्यो । सबैले निक्कै गरुङ्गो गरी हातमा अचम्मको पोको बोकेर गएको दृश्यले सबैलाई अचम्मित बनायो ।

वास्तवमा सहकारीले आफ्नो वार्षिक साधारणसभामा सहभागीलाई दैनिक घरमा उपयोग हुने उपभोग्य सामाग्री उपहार स्वरुप दिएर सबैको मन जित्ने प्रयास गरेको पाइयो ।

अचम्मको पोको उपहार संस्थाका अध्यक्ष नविन खरेल तथा अन्य पदाधिकारीहरुले प्रदान गरेका थिए ।
विषयगत सहकारी मध्ये विराट अर्जुन उपभोक्ता सहकारी संस्था विर्तामोड नगरपालिकाकै पहिलो उपभोक्ता सहकारी संस्था हो ।