विद्यार्थीलाई प्रयोगात्मक कृषि खेती शिक्षा

दमक / विद्यार्थीहरुलाई पाठ्यसामाग्रीको व्यवहारिक शिक्षा दिन झापा, दमकको एक नीजि विद्यालयले प्रयोगात्मक शिक्षा दिन थालेको छ ।

दमक–९ स्थित झापा मोडल अंग्रेजी बोर्डिङ स्कुल ( जेम्स ) ले विद्यार्थीहरुलाई कृषि खेतीका बारेमा प्रयोगात्मक कक्षा शुरु गरेको हो ।
विद्यालयका प्रिन्सीपल सागर श्रेष्ठका अनुसार विद्यालयले पहिलोपटक कृषि,पेशा,व्यवसायका पाठ्यसामाग्रीलाई व्यवहारिक रुपमा शिक्षा दिने प्रयोगात्मक कक्षा सञ्चालन गरेको छ ।

कक्षा ६,७ र ८ का विद्यार्थीहरुलाई कृषि सम्बन्धी प्रयोगात्मक शिक्षण सिकाई सञ्चालन गरिएको प्रिन्सीपल श्रेष्ठले जनाएका छन् । यसै शैक्षिक सत्रदेखि विद्यालयले अढाई कठ्ठा जग्गा लिजमा लिएर प्रयोगात्मक कृषि शिक्षण शुरु गरेको हो ।

प्रिन्सीपल श्रेष्ठले माध्यमिक तहमा पेशा ,व्यवसाय सम्बन्धी पाठ्यसामग्री समावेश भएकाले त्यस सम्बन्धी व्यहारिक शिक्षा दिने उद्देश्यले यस्तो नौलो कार्यक्रम शुरु गरिएको जानकारी दिए ।

सो कार्यक्रम अन्तर्गत करिव १२० जना विद्यार्थीहरुले सयपत्री फूल र खुर्सानीका विरुवा रोपिसकेका छन् । विद्यार्थीहरुले परिक्षणका रुपमा सयपत्री २ सय र ७ सय बढी खुर्सानीको खेती गरिएको प्रिन्सीपल श्रेष्ठले वताए । विद्यालय छुट्टि तथा टिफिनको अवसर पारेर विद्यार्थीहरुले ती विरुवाहरु रोपेका हुन् । प्रिन्सीपल श्रेष्ठले भने,–‘ यस कार्यक्रमबाट विद्यार्थीले खेतीका बारेमा आधारभूत ज्ञान प्राप्त गर्ने छन् ।’ श्रेष्ठका अनुसार विद्यार्थीहरुले लगाएका बालीबाट उत्पादित वस्तुलाई अभिभावकहरुलाई विक्री गरेर त्यस रकम दमकमा निर्माणाधीन बालआश्रममा सहयोग दिने छन् ।

विद्यार्थीहरुले विषयगत शिक्षकको समन्वयमा वाली कसरी लगाउने,मलको व्यवस्थापनदखि माटोको वनावटसंगै गोडमेल गरि उत्पादनमा लागेको विद्यालयले जनाएको छ । विषयगत शिक्षिका चन्द्रकला अधिकारीका अनुसार यस्तो सिकाई प्रणालीले विद्यार्थीहरुले कृषि बाली, पेशा ,व्यवसायका बारेमा आफैले नजिकबाट थाहापाउन सक्ने छन् । ‘यसले व्यवहारमा अभ्यास सिकाई गराउँछ’ शिक्षिका अधिकारीले वताइन् ।

उनले विद्यार्थीहरुले नै आफनै टिफीन खर्च जुटाएर मल,विउँ खरिद गरेका हुन् । यसले प्राकृतिक तवरले वाली उत्पादनमा समेत शिक्षण सिकाईले प्रेरित गर्ने शिक्षिका अधिकारीको जोड छ । वालीमा विषादीले पार्न सक्ने असरका बारेमा समेत बाली अभ्यासमा छलफल गर्ने उनले बताईन् । भन्छिन्, ‘विषादी विनाको कृषि बाली उत्पादन र महत्वका बारेमा समेत यस अभ्यासले प्रत्यक्ष फाइदा पुग्ने छ । ’

पढाइका अतिरिक्त व्यवहारिक शिक्षामा समेत अव्वल मानिएको जेम्सले विद्यार्थीहरु लक्षित कृषि प्रयोगात्मक सिकाईलाई निरन्तरता दिने प्रिन्सीपल श्रेष्ठ बताउँछन् ।