मारवाडी महिला मञ्च विर्तामोडमा नयाँ नेतृत्व

भद्रपुर / मारवाडी महिला मञ्च विर्तामोडले आगामी दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

विर्तामोडस्थित मारवाडी सेवा समितिको हलमा हालै सम्पन्न मञ्चको १३ औं साधारणसभाले रीता चितलंगियाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सबै पदमा एक–एकजनाको मात्र नाम परेपछि निर्वरोध निर्वाचित घोषणा गरिएको निर्वाचन समितिका सदस्य भाष्कर शर्माले जानकारी दिए । निर्वाचन समितिको संयोजकमा शिवकुमार अग्रवाल थिए ।

रचनात्मक क्रियाकलापका साथ सामाजिक योगदान पुर्याउने उद्देश्यले विर्तामोडका मारवाडी समुदायका महिलाहरुले स्थापना गरेको सो मञ्चको उपाध्यक्षमा सरिता मिण्डा, सचिवमा चाँदनी अग्रवाल र कोषाध्यक्षमा रेखा अग्रवाल चयन भएका छन् भने सदस्यमा रितु अग्रवाल, कञ्चन अग्रवाल, सारिका अग्रवाल, खुश्वु अग्रवाल वंशल, मधु मित्तल, निलम अग्रवाल, सुमित्रा पारिक, निलम अग्रवाल मित्तल, अनिता अग्रवाल र सरिता चौधरी रहेका छन् ।

मञ्चकी अध्यक्ष दीपा खेडियाको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी उपप्रमुख पििवत्रा महतारा प्रसाईंले गरेकी थिइन् । प्रमुख अतिथि प्रसाईंले सामाजिक विकास, मानवीय सेवाकार्य तथा परोपकारी कार्यमा मारवाडी महिलाहरुले देखाएको अग्रसरता अन्य समुदायका लागि पनि अनुकरणीय भएको भन्दै महिला मारवाडी महिला मञ्चको प्रशंसा गरिन् ।

सदस्य चाँदनी अग्रवालले स्वागत र प्रियंका शमाले सञ्चालन गरेको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रीय उपाध्यक्ष निर्मला जोशी शर्माले विगतमा घरधन्दामा मात्र सीमित मारवाडी महिलाहरु अहिले नेतृत्व गर्नसक्ने अवस्थामा पुगेको भन्दै मारवाडी महिला मञ्चमार्फत झापामा मारवाडी महिलाहरुले सामाजिक कार्यमा योगदान पुर्याइरहेको बताइन् ।

साधारणसभा उद्घाटन समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खेडियाले आफ्नो पाँचवर्षे कार्यकालमा भएका सामाजिक क्रियाकलापका बारे बयान गरिन् । उनले श्रीमान–श्रीमती एकअर्काका सहयोगी भएको बताउँदै मञ्चको नेतृत्वमा रहँदा सामाजिक काममा लागिरहन श्रीमान् पवन खेडियाले निकै सहयोग पुर्याएको पनि बताइन् ।

कार्यक्रममा मारवाडी सेवा समिति विर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, समितिका पूर्व अध्यक्ष दिनेश मित्तललगायतले शुभकामना मन्तव्य राखेका थिए ।