बीएण्डसीको प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर

गौरीगञ्ज /  झापाको गौरीगञ्ज गाँउपालिका-१, महाभारा स्वास्थ्य चौकीमा शुक्रबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गाँउपालिका र अभियान नेपालको संयुक्त आयोजनामा स्वास्थ्य शिविर राखिएको हो ।

गाउँपालिकाका १ र २ वडाका बाढीप्रभावित स्थानीयको स्वास्थ्य परिक्षण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको अभियान नेपालका कार्यक्रम निर्देशक लोकप्रिय खनालले जानकारी दिए ।

स्वास्थ्य शिविरमा दुईवटा वडाका ६२ बालबालिका, ६३ जना महिला र पुरुष गरी ४६२ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । त्यसमध्ये १७० जना स्थानीयको  सुगर जाँच र ७० जनाको भिडियो एक्सरे गरिएको थियो ।

स्वास्थ्य शिविर कारितास नेपालको आर्थिक तथा विर्तामोडको बीएण्डसी हस्पिटलको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
शिविरको उद्घाटनसत्रमा बीएण्डसी हस्पिटलका मानव संशाधन प्रमुख प्रमेश गिरीले स्वास्थ्य क्षेत्रमा पहुँच नभएका दुर्गम भेगका नागरिकको स्वास्थ्य संस्थासँग सम्पर्क गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । शिविरमा स्वास्थ्य परिक्षण गराएका विरामीहरुलाई पुर्जा लिएर आएमा बीएण्डसी हस्पिटलले १५ प्रतिशत छुट दिने गिरीले जानकारी दिए ।

शिविरमा अभियान नेपालका उपाध्यक्ष हेमबहादुर खत्रीले झापाका विभिन्न क्षेत्रका बाढी प्रभावितहरुका लागि शिक्षा, स्वास्थ्य, विपदव्यवस्थापन लगायतका क्षेत्रमा अभियान नेपालले सहयोग गर्दै आएको बताए ।

वडाध्यक्ष कातिकलाल राजवंशीको सभापितत्वमा भएको शिविर उद्घाटन समारोहमा गौरीगञ्ज गाँउपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले उपस्थित हुन नसकेको भन्दै पठाएको शुभकामना सन्देश स्वास्थ्य शाखाका टीका गुरागाँइले पढेर सुनाएका थिए ।

कार्यक्रममा १ लाख रुपैंया बराबरको औषधी निःशुल्क वितरण गरिएको थियो । हस्पिटलको तर्फबाट प्रसुती तथा स्त्री रोग विशेषज्ञ , हाडजोर्नी तथा नसा रोग विशेषज्ञ, फिजीसियन र नर्सीङ विभागका गरी ६ जना डाक्टरको टोली उपस्थित थियो । कार्यक्रमको सञ्चालन अभियान नेपालका कार्यक्रम निर्देशक लोकप्रिय खनालले गरेका थिए ।