टीट्वेन्टी विश्वकप छनोटका लागि राष्ट्रिय टोलीको घोषणा

काठमाडौं / आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको समूह ‘बी’ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। आइतबार पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो। आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले खेलाडी छनोट गरेको हो।

टोलीको उपकप्तानमा ज्ञानेन्द्र मल्ल छन्। यस्तै अनिल साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ सेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी छन्।

एसिया छनोटको समूह ‘बी’ को खेल मलेसियामा बुधबारदेखि सुरु हुँदैछ। नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्दैछ। छनोटमा नेपालले आयोजक मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेल बुधबार म्यानमारसँग खेल्नेछ। छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउनेछन्। एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछ। एसिया छनोटमा सात टोलीले प्रतिस्पर्धा गर्नेछन्।

अन्नपूर्णपोष्ट