माँ लक्ष्मी सहकारीको साधारणसभा सम्पन्न, अध्यक्षमा घनश्याम

विर्तामोड / माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १० आँै वार्षिक साधारणसभा सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रीत शर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकाल रहेका थिए ।

अध्यक्षद्वारा प्रस्तुत गरेको प्रतिवेदनमा एक करोड ३९ लाख ६८ हजार एक सय शेयर पुँजी रहेको उल्लेख छ । एक हजार ६ सय ९ जना शेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा ४४ करोड ४९ लाख ५४ हजार ७२ रुपैयाँ निक्षेप संकलन गरेको छ भने फिर्तातर्फ ४४ करोड १८ लाख ८९ हजार ७ सय ७२ रुपैयाँ रहेको अध्यक्षद्वारा जारी प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले संस्थापक अध्यक्ष धर्मराज माझी, उत्कृष्ट बचतकर्ता सुनिता राजवंशी, उत्कृष्ट ऋणी लालसिंह राजवंशी, कर्मचारी मेनुका खतिवडा, सञ्चारकर्मी तुलसीप्रसाद निरौलालाई सम्मान गरेको छ ।

उनीहरुलाई नगदसहित सम्मान गरेको थियो । त्यसैगरी, विभूति विद्यामन्दिर सेकेन्डरी स्कुल भद्रपुर–१० र महेन्द्ररत्न मावि अनारमनीबाट गत वर्षको एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने पंकज दाहाल र करिना माझीलाई नगदसहित सम्मान गरेको थियो ।

संस्थाका उपाध्यक्ष घनश्याम चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देवेन्द्रकुमार सिंहले गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बलराम कार्की, जिल्ला सहकारी बैंक बिर्तामोडकी प्रबन्धक सविना बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

माँ लक्ष्मी सहकारीको अध्यक्षमा घनश्याम

माँ लक्ष्मी साकोसको १० औँ साधारणसभाले ४ वर्षे कार्यकालका लागि घनश्याम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा देवेन्द्रकुमार सिंह, सचिवमा सञ्जयकुमार शर्मा, सहसचिव निशा सोनी कर्ण, कोषाध्यक्षमा रामेश्वर द्विवेदी रहेका छन् ।

सदस्यमा राजकुमार राजवंशी, लखनलाल राजवंशी, हेमाकुमारी पोखरेल, सत्रुघनप्रसाद गुप्ता, कुलदीप भर्वे, उदय साह चयन भएका छन् । लेखा समिति संयोजकमा रमेश खतिवडा, सदस्य जोगेन्द्र चौधरी, मुन्ना बठावत चयन भएका छन् ।

नवनिर्वाचित चौधरी श्री छठ समाज सेवा समितिको अध्यक्ष, लायन्स क्लब बिर्तामोडका वरिष्ठ उपाध्यक्ष, एम्नेस्टि इन्टरनेसनल झापा सहसचिव तथा वीरता जेसीज बिर्तामोडका कोषाध्यक्षको जिम्मेवारीमा रहेर सामाजिक क्षेत्रमा सक्रिय छन् ।