सहारा नेपालको गहकिलो निर्णय, क्यान्सर पीडित सातजना शेयर सदस्यलाई साढे २५ लाख हस्तान्तरण

विर्तामोड / झापाको विर्तामोड नगरपालिकामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यको स्वास्थ्यप्रति चासो राख्तै गहकिलो जिम्मेवारी बोध गरेको छ ।

आफ्ना शेयर सदस्यलाई सामान्य रोग लागेको खण्डमा ८० प्रतिशतसम्म उपचार खर्च व्यहोर्दै आएको सहाराले क्यान्सर जस्तो प्राणघातक रोग लागेका शेयर सदस्यको उपचारका लागि पनि गहकिलो रकम हस्तान्तरण गर्दै उदाहरणीय कार्य गरेको छ ।

मंगलबार सहारा नेपालले चारपानेमा रहेको आफ्नो केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी क्यान्सर पीडित आफ्ना सातजना शेयर सदस्यलाई २५ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

सहारा नेपालले ‘जीवन बरदान स्वास्थ्य कार्यक्रम’ अन्तर्गत आफ्ना शेयर सदस्यको उपचारमा लागेको खर्च हेरेर सहयोग रकम हस्तान्तरण गरिएको सहकारीका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले बताए ।

सहारा नेपालका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षतामा भएको सहयोग रकम हस्तान्तरण समारोहमा क्यान्सरको उपचार गराएर आएका शेयर सदस्य र विरामीका आफन्तहरुको उपस्थिति थियो ।

सहाराले गिजाको क्यान्सर भएका शिवसताक्षीका कर्णबहादुर विकलाई दुई लाख ५० हजार, आन्द्राको क्यान्सर भएकी बिर्तामोडकी रिमा लिङ्देनलाई पाँच लाख, टाउकाको क्यान्सर पीडित बाह्रदशीकी केन्द्रमाया कार्कीलाई दुई लाख, घाँटीको क्यान्सर उपचार गराउँदै आएकी बिर्तामोडकी टिकादेवी पकुवाललाई पाँच लाख, आन्द्राको क्यान्सर भएका कनकाई नगरपालिकाका भानुभक्त कटुवाललाई चार लाख, आन्द्राकै क्यान्सर भएका अर्जुनधाराका दाताराम भण्डारीलाई पाँच लाख र स्तन क्यान्सर भएर दुबईमा उपचार गराइरहेकी बिर्तामोडकी सावित्रा कँडेललाई दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

कार्यक्रममा उपस्थित विरामीहरुलाई रकमकको चेक हस्तान्तरण गरिएको थियो भने उपस्थित नभएकाहरुलाई रकमको चेक आफन्तको जिम्मा लगाएको थियो ।

सबै विरामी भरतपुर, एपोलो, नेपाल क्यान्सर अस्पताल, राजीवगान्धी क्यान्सर अस्पताल दिल्ली, नेपाल मेडिसिटी र एमएनसी स्पेलइटी अस्पताल दुबईमा उपचाररत रहेको पीडितहरुले बताए ।

‘यसअघि संस्थाले चिरेर अपरेशन गर्नुपर्ने रोगको लागि मात्र सहयोग गर्दथ्यो’- शिवसताक्षीका कर्णबहादुर विकले भने, -‘तर आजकल अपरेशन नगर्ने खर्च धेरै हुनेलाई राहत भएको छ ।’ संस्थाले गरेको सहयोगले ठूलो राहत मिलेको उनले बताए ।

सहयोग पाएका बिरामी तथा आफन्तले संस्थाको कार्य सराहनीय भएको बताएका छन् । ‘सहाराले यस्तो नीति बनाएर सहयोग गरेकोमा हामी हर्षीत छौँ’, आन्द्रामा क्यान्सर भएका बिरामी दाताराम भण्डारीले भने । सहकारी संस्थाले विसं २०८० सम्ममा सबै स्वास्थ्य सेवा निःशुल्क गर्ने लक्ष्य लिएको छ ।

सोही लक्ष्यअनुरुप हाल सामान्य रोगका बिरामीलाई ८० प्रतिशतसम्म खर्च बेहोर्दै आइएको र क्यान्सर, मटु, मिर्गौला जस्ता बिरामी भएका सदस्यलाई विशेष सहयोग प्रदान गरिएको संस्थाका सचिव गिरीले बताए ।

‘हुनत सरकारले पनि कतिपय रोगलाई निःशुल्क गरेको छ, सरकारले सबै रोगलाई निःशुल्क गर्न पनि नसक्ला’, गिरीले भने, ‘विपन्न वर्गका शेयर सदस्यका लागि हाम्रो जीवन वरदान कार्यक्रमले सहयोग पुर्याउँछ, भन्ने हाम्रो सोचाइ छ । ‘अहिले क्यान्सर उपचारको विल हेरेर सहयोग गरिएको छ’ सचिव गिरीले भने -‘निकट भविश्यमा संस्थाले शतप्रतिशत सहयोग गर्ने लक्ष्य राखेको छ ।’

सहारालाई कारोबारमा एक नम्बर प्रदेशकै ठुलो र सदस्य संख्याका आधारमा मुलुककै ठुलो संस्था मानिन्छ । ०५२ सालमा ३३ जनाको ३४ हजार रुपैयाँ शेयर पुँजीबाट सुरु गरेको संस्था स्थापनाको २२ वर्षमा रचनात्मक तथा सामाजिक काममा अग्रणी भूमिका निर्वाह गरेको छ । प्रदेश नम्बर १ मा मात्रै ५७ सेवा केन्द्रअन्तर्गत एक लाख ४० जना शेयर सदस्य छन् ।