दुई अमेरिकी र एक बेलायतीलाई रसायन शास्त्रमा नोबेल पुस्कार

सन् २०१८ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिने घोषणा गरिएको छ।

विश्व चर्चित र प्रतिष्ठित यो नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा दुई जना अमेरिकी र एक जना बेलायती नागरिक रहेका छन्। ‘द रोयल स्वीडिस् एकेडेमी अफ साइन्सले बुधबार ती तीन व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा भएको जानकारी दिएको छ।

नोबेल पुरस्कार प्राप्त गर्नेमा अमेरिकी वैज्ञानिक फ्रान्सिस् अर्नोल्ड र जर्ज स्मिथ हुन् भने बेलायती अनुसन्धानकर्ता ग्रेगरी विन्टरले पनि नोबेल पुरस्कार प्राप्त गरेकी हुन्। जैविक इन्धनदेखि औषधिसम्मका हरेक वस्तुको निर्माणमा प्रयोग हुने प्रोटिनको विकास गर्ने उत्पत्तिको सिद्धान्त प्रतिपादन गरेकोमा उनीहरूलाई यो पुरस्कार दिइने भएको हो।

उनीहरूले ‘डिरेक्टिड इभ्युलुशन’ नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिन बनाएका थिए। यस विधिबाट उत्पादित एन्टिबडी सन् २००२ मै औषधीय प्रयोगका लागि स्वीकृत भएको थियो।

बाथ, सराइअसिस भनिने चर्मरोग र पेटमा हुने विभिन्न रोगको उपचारमा त्यसको प्रयोग हुने गरेको छ। पुरस्कार पाउनेमध्ये अर्नोल्डले ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलर पुरस्कार राशिको आधा भाग पाउनेछन् भने स्मिथ र विन्टरले बाँकी रकमको आधा आधा पाउनेछन्।

यसअघि गत सोमबार चिकित्साशास्त्र विधातर्फको नोबल पुरस्कारको घोषणा भएको थियो भने आउने शुक्रबार शान्तितर्फ र आगामी सोमबार अर्थशास्त्र तर्फका विजेताको नाम घोषणा गरिनेछ। यस वर्ष साहित्य विधाको नोबल पुरस्कार विजेताको नाम भने घोषणा नगरिने भएको छ। त्यो पुरस्कार अर्को वर्ष सन् २०१८ र २०१९ का विजेताको घोषणा एकैचोटि गर्ने निर्णय भइसकेको छ।
thahakhabar.com