भ्रष्ट आचरणले कम्यूनिष्ट पतन हुन लागे : राजेन्द्र लिङदेन

रञ्जित प्रसाई-

बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले कम्युनिष्ट पार्टी भ्रष्ट आचरणको कारणले पतनको बाटोमा लागेको बताएका छन् ।

राप्रपाको सङ्गठन बिभाग प्रमुख समेत रहेका महामन्त्री लिङदेनले कुनै बिपक्षीको कारण नभई आफ्नै कारणले कम्युनिष्टपार्टीको सरकार असफल हुने समेत जिकिर गरे ।

राप्रपा झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको विस्तारित भेला तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सांसद समेत रहेका महामन्त्री लिङदेनले काङ्ग्रेस र कम्युनिष्ट पार्टीसंग जनता निराश भएको उल्लेख गरे ।

ठूलो पार्टी भन्नेहरु असफल भइसकेको उल्लेख गर्दै उनले बैकल्पिक शक्तिको रुपमा राप्रपा नै एक मात्र बिकल्प रहेको बताए । पार्टी कार्यकर्ताले निरास हुनु पर्ने अवस्था नरहेको बताउँदै सुदृढिकरण र बिस्तारमा पार्टी लागि सकेको बताए ।

काङ्ग्रेस र नेकपाको भ्रष्टाचारको भण्डाफोर गर्दै विकासको आवश्यकतामा जनताको भावना अनुरुप कार्य गर्न उनले पार्टीकार्यकर्तालाई आग्रह समेत गरे ।

हिन्दु जागरण अभियान गाउँ तहसम्म लैजानु पर्नेमा जोड दिदै महामन्त्री लिङदेनले हिन्दु राष्ट्रि पुर्नस्थापनाको लागि फेरि एक पटक दृढ भएर उभिनु पर्ने वेला आएको बताए ।

निर्वाचनको पछिलो परिणामले कार्यकर्तामा निराशपन आउनु स्वाभाविक भएको बताउँदै उनले पार्टी हरेक कार्यकर्ता माझ नयाँ ढङ्गले प्रस्तुत हुने उल्लेख गरे ।

उनले भने ‘इमान्दारीताको साथ आ–आफनो ठाउँबाट जुट्नुहोस पार्टी गाउतह देखिनै सुदृढिकरण र विस्तारमा जुटी सकेको छ ।’
विस्तारीत भेला तथा शुभकामना आदन प्रदान कार्यक्रममा प्रदेश एकका प्रमुख राम थापा, केन्द्रीय सदस्य राजकुमार पोखरेल, बासुदेब भटराई , गौरीगञ्ज गाउपालीकाका अध्यक्ष बाबुराजा श्रेष्ठलगायतले बोलेका थिए ।

राप्रपा झापाले हिन्दु जागरण अभियान मंसीर १ गते बिर्तामोडमा आयोजना गर्ने निर्णय समेत गरेकोछ । सो कार्यक्रममा केन्द्रीय अध्यक्ष कमल थापा समेत सहभागि हुने जनाइएको छ ।

पार्टीका जिल्ला अध्यक्ष अमर विष्टको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव केशब ओझाले गरेका थिए ।