कनकाई सुरुङ्गा प्रेस क्लबद्वारा साहित्यकार र सञ्चारकर्मी सम्मानित

सुरुङ्गा / झापा कनकाई सुरुङ्गा प्रेस क्लबले तेस्रो स्थापना दिवसको अवसर पारेर बिहीबार झापाका अग्रज साहित्यकारलाई अभिनन्दनसहित क्रियाशील एकजना महिला पत्रकारलाई पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

यसरी सम्मानित हुने अग्रज साहित्यकारमा कनकाई ३ का कोमलप्रसाद पोखरेल छन् भने पत्रकारिता पुरस्कारबाट कञ्चनजंघा एफएमकी कार्यक्रम प्रस्तोता भीमा शिवाकोटी रहेकी छन् ।

इलामवाट शिक्षण सेवामा प्रवेश गरेका पोखरेलले २०२३ सालदेखि कनकाई प्राथमिक विद्यालयमा अध्यापन प्रारम्भ गरेका थिए । पोखरेलले नेपाली साहित्य र शिक्षाको माध्यमबाट समाज रुपान्तरणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नगद ७ हजार ५ सय ५५ सहित, दोसल्ला र अभिनन्दनपत्रबाट सम्मान गरिएको हो ।

कञ्चनजंघा एफएमबाट पत्रकारिता सुरु गरेकी नेपाल पत्रकार महासंघ झापाकी महिला उपाध्यक्ष समेत रहेकी क्रियाशील सञ्चारकर्मी शिवाकोटीलाई सञ्चारको क्षेत्रबाट समाज परिवर्तन र विकासमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नगद ७ हजार ५ सय ५५ सहित, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

सम्मानित दुवैजनालाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेल एवम् विशेष अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा लगायतले सम्मान गरेका थिए । कार्यक्रममा प्रेस क्लबको अक्षयकोष वृद्धिका लागि ११ हजार रुपैयाँ सहयोग गर्ने कनकाई नगरकी उपप्रमुख मञ्जु प्रसाईंलाई समेत सम्मान गरिएको थियो ।

क्लबले स्थापना दिवसको अवसरमा पहिलो वर्ष स्वर्गीय तुलसीदास श्रेष्ठ र गौरव पोखरेललाई साथै दोस्रो वर्षमहाकाव्यकार मित्रप्रसाद दहाल र लीलाराज झापालीलाई नगदसहितको सम्मान गरिसकेको छ ।

कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौलाको सभापतित्वमा भएको कार्यक्रममा क्लबकी उपाध्यक्ष संगीता उप्रेतीले स्वागत तथा सदस्य डिल्लीराम घोर्साईंले औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय पोखरेल, शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटा, सचिव सन्तोष आचार्य, कनकाई माविका प्राचार्य निर्मल खतिवडालगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव मनोज बस्नेतले गरेका थिए ।