कालाज्वरविरुद्ध औषधी छिट्दै मेचीनगर

मेचीनगर / केही वर्षअघि मेचीनगरमा कालाज्वरका कारण एकजनाको मृत्यु भएपछि मेचीनगर नगरपालिकाले बिहीबारदेखि नगरका विभिन्न ठाउँमा कालाज्वर रोग नियन्त्रणका लागि कीटनाशक विषादी छिटकाउ अभियान सुरु गरेको छ ।

नगरका कालाज्वर र औलोरोग प्रभावित क्षेत्रहरुमा यो अभियान सञ्चालन गरिनेछ । नगरको स्वास्थ्य शाखाका अनुसार मेचीनगर १० को टिमाई भ्यालीदेखि अभियान सुरु गरेको हो ।

केही वर्षअघि यस क्षेत्रमा कालाज्वरका कारण स्थानीय अवल मोहमदको मृत्यु भएको नगरका स्वास्थ्य सहसंयोजक रामनारायण यादवको भनाइ छ । अहिले सो स्थानको २ किलोमिटर वरपर ‘डेल्टाकमेथ्रिन’ नामक औषधि छिट्ने काम सुरु भएको हो ।

‘केही वर्षअघि मेचीनगरको यही ठाउमा कालाज्वरका कारण स्थानीय अवल मोहमदको मृत्यु भएको थियो’, सहसंयोजक यादवले भने, ‘फेरि कालाज्वर नफैलियोस  वा संक्रमण नदेखियोस  भनेर यसको नियन्त्रण गर्ने उद्देश्यले अभियान सुरु गरेका हौ  ।’

औषधि छिट्नका लागि पाँचजना स्प्रेमेन परिचालन गरिएको स्वास्थ्य सयोजक शशिकला राईले बताइन । करिब २ सय घरधुरीमा यो औषधि छिट्ने योजना रहेको छ । यो रोग संक्रमित पोथी जातको फिलिबोटोमस आरजेन्टिपस सेन्डफ्लाइ भुसुनाको टोकाइबाट सर्ने स्वास्थ्य संयोजक राईको भनाइ छ ।

दुई वा दुई हप्ताभन्दा बढी समयसम्म मन्द ज्वरो आइरहने, अनियमित ज्वरो आउने, खान मन नलाग्ने, दुब्लाउँदै जाने, कमजोरी हुने, तौल कम हुने, कलेजो बढने, रक्तअल्पता हुने, शरीरको रङ फुस्रो देखिने र हात खुट्टा अनुहार तथा शरीरको छाला कालो हुँदै जाने आदि यस रोगको लक्षणहरु हुन् ।

यी माथिका लक्षण चिन्हहरु देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा स्वास्थ्य जाँचका लागि जान राईले नगरबासीलाई आग्रह समेत गरिन् ।