चारपाने अर्जुनधारा विकास समाजको दोस्रो साधारणसभा सम्पन्न

विर्तामोड / चारपाने अर्जुनधारा विकास समाजको दोस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । चारपानेस्थित टाइमस्क्वाएर पार्टी प्यालेसमा सम्पन्न साधारणसभाको उद्घाटन विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले व्यानर बाचन गरेर गरेका थिए ।

समाजका अध्यक्ष हरीप्रसाद भण्डारीको सभापतित्वमा भएको साधारणसभाको उद्घाटन अवसरमा समाजका सल्लाहकार प्रेमप्रकाश सिटौला, सांस्कृतिक उपसमिति संयोजक माधव कल्पित, निर्जला हितैसी महिला बचत समुहकी अध्यक्ष उर्मिला पोखरेल, अर्जुनधारा ५ का वडाध्यक्ष ध्यानबहादुर भारती, विर्तामोड २ नं वडाध्यक्ष नगेन्द्र संग्रौलालगायतले साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष भण्डारीले समाजको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने अतिथीहरुलाई उपाध्यक्ष चित्रकला ओलीले स्वागत गरेकी थिइन् । ओमप्रकाश विमलीले संस्थाको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सञ्चालन सचिव भरत भट्टराइले गरेका थिए ।

आ–आफ्नो ठाँउ आफै बनाउँ भन्ने उद्देश्यले २०७२ साल फागुनमा उक्त संस्था स्थापना भएको हो । संस्थाको कार्य क्षेत्र विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिका अन्तर्गत पूर्व रामचोक, पश्चिम घाग्राखोला,उत्तर बैशावाडी मन्दिर र दक्षिण बेडडाँगी क्षेत्रसम्म रहेको छ ।

समाजमा हालसम्म व्लक नं १ मा २६३ जना, व्लक नं २ मा ६७, व्लक नं ३ मा ८२ र व्लक नं ४ मा ७५ जना गरी ४८७ जना सदस्यहरु आवद्ध रहेका छन् । समाजले आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरुबाट १०० रुपैया उठाएर मरिमराउमा समबेदना बुझाउने, संस्कार सस्कृती जगेर्ना गर्न धान दिवश, तीज, देउसी भैलोलगायतका कार्यक्रम गर्ने गरेको छ ।

साथै समाजले मुल सडकको दायाँ बायाँ विस्तार,सौर्य बत्ती मर्मत, प्रकोप पीडितलाई राहत सामाग्री प्रदान, डेँगु रोग नियन्त्रणका लागि वडा कार्यालयसँगको समन्वयमा औषधी छिट्ने लगायतका अभियान सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ ।