लक्ष्मी साकोसले युवालाई जिम्मेवारी सुम्पेर ‘एग्रेसिभ्ली’ लाग्नुपर्छ : महेन्द्र गिरी

विर्तामोड / लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार विर्तामोडमा सम्पन्न साधारणसभाको सहारा नेपाल साकोसका सचिव महेन्द्रकुमार गिरीले उद्घाटन गरेका थिए ।

साधारणसभाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरीले सहकारीका सकारात्मक र सुधार्नु पर्ने पक्षका बारेका टिप्पणी गरेका थिए । झापामा स्थापित सहकारी मध्ये दोस्रो जेठो संस्था लक्ष्मी सहकारीले उल्लेख्य प्रगती गरेपनि कारोबारको दृष्टिीकोणले पछाडी खोलिएका सहकारी भन्दा धिमा गतिमा अगि बढेको बताए ।

प्रमुख अतिथी गिरीले बचत तथा ऋणको काम मात्र नगरी सहकारीले सामाजिक गतिविधीलाई पनि ध्यान दिनुपर्ने सुझाव दिए । उनले संस्थाको जिम्मेवारी युवा पुस्तामा हस्तान्तरण गर्दै ‘एग्रेसिभ्ली’ लाग्न समितिलाई सुझाव दिए । साना बचतका कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्न आग्रह गर्दै गिरीले पछिल्लो प्रविधीलाई सदुपयोग गर्दै अघिबढे संस्था मजबुद हुने धारण व्यक्त गरे ।

संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको सभापतित्वमा भएको उद्घाटनसत्रमा विर्तामोड उद्योग वाणिज्यसंघका अध्यक्ष कुमार भट्टराई, संस्थापक अध्यक्ष दिनेश मल्ल, पूर्व अध्यक्ष चन्द्रकुमार राजभण्डारी, सतासी बहुमुखी सहकारीका सदस्य लक्ष्मीकान्त खनाल, गोदावरी बचत तथा ऋण सहकारी संस्थाका रामबहादुर बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष गणेशकुमार शाक्यले स्वागत गरेका थिए भने सञ्चालन एलसी श्रेष्ठले गरेका थिए ।

साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई वर्षेनी प्रदान गर्दै आएको पुरस्कार यसवर्ष पनि प्रदान गरेको छ । जस अन्तर्गत ८ जना उत्कृष्ट बचतकर्ता र ५ जना उत्कृष्ट ऋणीलाई २ हजार १०० नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै, एसइईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी आयुस्मा काफ्ले र सविन पराजुलीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको थियो भने उत्कृष्ट कर्मचारीका रुपमा रेजिना पौडेल र इन्दिरा खड्का पुरस्कृत भएका थिए ।

कार्यक्रममा अध्यक्ष बस्नेतले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले शेयर सदस्यलाई २८ प्रतिशतसम्म मुनाफा वितरण गर्न सफल भएको जानकारी दिए । ५३ सालमा ३८ लाख रुपैयाँबाट शुरु भएको संस्थाको शेयरपुँजी बृद्धी भई हाल ३ कराड ६ लाख ५२ हजार ४०० रुपैयाँ पुगेको अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।