पाँचथर सरोकार समाज विर्तामोडको प्रथम ऐतिहासिक भेला, अध्यक्षमा कमल

विर्तामोड / पाँचथरदेखि विर्तामोडआई बसोबास गर्ने व्यक्तिहरुको प्रथम ऐतिहासिक भेला आज विर्तामोडमा सम्पन्न भएको छ । ‘पाँचथर सरोकार समाज विर्तामोड’ नामाकरण गर्दै पाँचथरमा जन्मेर विर्तामोडलाई कर्मथलो बनाउनेहरुको भेला सम्पन्न भएको हो ।

प्रथम ऐतिहासिक नाम दिइएको सो भेलामा पाँचथरमा जन्मे हुर्केर विर्तामोड आई पेशा व्यवसाय गरी बसेका २५० भन्दा बढीको उपस्थिति थियो । सम्पन्न भेलाले कमल खरेलको अध्यक्षतामा १३ सदस्यीय ‘पाँचथर सरोकार समाज विर्तामोड’ गठन गरेको छ । समितिमा दूइजना उपाध्यक्ष रहने व्यवस्था गरेको छ ।

नव गठित समितिको उपाध्यक्ष, सचिव, सह-सचिव र कोषाध्यक्षमा क्रमशः धनराज योङहाङ, मोहन अधिकारी, सुभाष भट्टराई, छवी विक र संगीता चिमरिया रहेका छन् ।

सदस्यहरुमा ओमभक्त सेडाई,भानु शिवाकोटी, सागर योङहाङ, दुर्गा थापा, सैलेन्द्र कुरुङवाङ, देशमाया बेघा र सञ्चार नेम्वाङ रहेका छन् । भेलाले ११ सदस्यीय सल्लाहकार समिति, ५ सदस्यीय विधान मस्यौदा समिति र ३ सदस्यीय प्रचार विभाग समिति पनि गठन गरेको सचिव सुभाष भट्टराईले जानकारी दिए ।

विर्तामोडस्थित आदर्श पार्टी प्यालेसमा आयोजित भेलाको उद्घाटन संघीय संसद्का सभाषद् राजेन्द्र लिङ्देनले गरेका थिए । भेलाको उद्घाटन मन्तव्य राख्दै सभाषद् लिङ्देनले गठन हुन लागेको समाज राजनीति र धार्मिक दृष्टिकोणले अलग किसिमको हुनुपर्ने धारणा व्यक्त गरे ।

भ्रष्टाचारले हरेक क्षेत्रलाई गाँजेको बताउँदैे लिङ्देनले समाज विसुद्ध सेवामुखी र भ्रष्टाचार सहित हुनुपर्नेमा जोड दिए । भेलामा विशेष अतिथिको रुपमा निम्त्याइएका पाँचथरबाट निर्वाचित संविधानसभाका पूर्व सांसद् भिष्मराज आङदेम्बेले पाँचथरबाट झापा आई बसोबास गरेका व्यक्तिहरुले अब आफ्नो पुरानो ठाँउको बारेमा पनि सोच्न आग्रह गरे ।

सो अवसरमा प्रदेश सभाषद् जसमायाँ गजमेर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजकुमार पोखरेल, विर्तामोड नगरप्रमुख ध्रुव शिवाकोटी, विर्तामोड नं ४ वडाध्यक्ष कुलप्रसाद संग्रौला, जनप्रतिनिधि भिष्मराज खरेललगायतले मन्तव्य राख्दै समाजका लागि केही गरे मात्रै संस्था गठनको औचित्य हुने बताएका थिए ।

सो अवसरमा ५ नं वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले समिति गठन गर्नुको औचित्य, विधान र कार्यक्रमबबारे प्रकाश पारेका थिए भने भेलाले दुइ दर्जन बृद्धबृद्धालाई सम्मान समेत गरेको थियो । खड्गप्रसाद भट्टराइको सभापत्वि रहेको कार्यक्रममा ओमभक्त सेडाईले स्वागत गरेका थिए भने सञ्चालन सुभाष भट्टराइले गरेका थिए ।