संजिवनी साकोसको साधारणसभा सम्पन्न

विर्तामोड / संजिवनी बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन अनुसार अघिल्लो वर्षको शेयर पुँजी २२.८७ प्रतिशतले बृद्धी भई १ करोड ४८ लाख २८ हजार १०० रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थामा अघिल्लो वर्षको तुलनामा बचत १८.८७ प्रतिशतले बृद्धी भएको छ जुन फिर्ता गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

यामकुमार चडालको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन विर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शिवाकोटीले सहकारीले अब बचत तथा ऋणको साथसाथै शेयर सदस्यहरुलाई कौशी खेती तर्फ आकर्षण गर्न सुझाव दिए ।

कार्यक्रमका विशेष अतिथि जिल्ला सहकारी संघका सचिव युवराज ढकालले संजिवनी सहकारीले वित्तिय कारोबारको दृष्टिकोणले उल्लेख्य प्रगती गर्न सफल भएको टिप्पणी गरे । साधारणसभाको उद्घाटनसत्रमा समिट माइक्रफाइनान्सका अध्यक्ष तिर्थराज ढकाल,सतासी बहुमुखी सकहारी संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठ, विराट अर्जुन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष नविन खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका कोषाध्यक्ष शिवबहादुर कटुवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मेघराज बाँस्तोलाले गरेका थिए । कार्यक्रममा असल बचतकर्ता, असल ऋणी र शेयर सदस्यका छोरा छोरी मध्येबाट उत्कृष्ट छात्र छात्रालाई उत्कृष्ट शिक्षा पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

असल बचतकर्तातर्फ कृष्णकुमारी खत्री, देवीमायाँ सञ्जेल, अर्जुन कडरिया, ओसिका र ओसन कडरिया, रुपमायाँ श्रेष्ठ, अभय श्रेष्ठ, डम्बरकुमारी गौतम, चारु राय र तुलसी पौड्याललाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै, असल ऋणीतर्फ ताराप्रकाश डाँगी, मित्र घिमिरे, नारायणप्रसाद उप्रेती, श्यामकुमार राजवंशी चन्दादेवी सरिया र राजकुमार कार्कीलाई पनि पुरस्कृत गरिएको थियो ।

उत्कृष्ट शिक्षा पुरस्कारबाट नीजि विद्यालयतर्फ छात्र निश्चल तिम्सिना र छात्रातर्फ एलिसा चङ्वाङलाई पुरस्कृत गरिएको थियो । साथै संस्थाले स्वास्थ्य उपचारकोषतर्फ २४ जना शेयर सदस्यलाई उपचार कोषको रकम वितरण गरेको जनाएको छ ।