चर्च ब्वाइज सेमिफाइनलमा

शनिश्चरे / काठमाडौँको चर्च व्याइज युनाइटेड अर्जुनधारामा जारी दोस्रो खुदुनावारी गोल्डकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
स्थानीय प्रस्तावित प्राकृतिक रंगशालामा आइतबार सम्पन्न दोस्रो खेलमा रेड स्टार फुटबल क्लब बिर्तामोडलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल पुग्न सफल भएको हो ।

चर्चब्वाइजको जीतका लागि खेलको १३ औं मिनेटमा भूवन बस्नेत र २७ औं मिनेटमा अभिषेक लिम्बूले गोल गरेका थिए । एकोहोरो दबाब सिर्जना गरेको खेलको म्यान अफ दी म्याच विजेता टीमका राजीव माझी घोषित भए । उनलाई वडा समिति ३ का अध्यक्ष जीवनकुमार भण्डारीले तीन हजार रुपैयाँबाट पुरस्कृत गरेका थिए ।

सोमबारको खेल सैनिक युथ क्लब बिर्तामोड र बीबीएफसी दमकबीच हुने प्रतियोगिता आयोजक समितिका संयोजक सुवास राईले जानकारी दिए ।