मेचीनगरले थाल्यो बजार अनुगमन

मेचीनगर / मेचीनगर नगरपालिकाको बजार अनुगमन टोलीले नगरमा विभिन्न व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई अखाद्य वस्तु म्याद गुज्रेका सढेगलेका खाद्यवस्तु विक्री वितरण नगर्न आग्रह गरेको छ ।

चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएको हुँदा उपभोक्ताले स्वस्थ्य र स्वच्छ खाद्य वस्तु उपभोग गर्न पाउन भनेर नगरपालिकाले अनुगमनलाई तीब्रता दिईरहेको छ ।

चाडपर्वको वहानामा व्यवसायीले कृत्रिम अभाव सृजना गरी मूल्य बृद्धि गर्ने लगायत अवान्छित क्रियाकलाप नियन्त्रण गर्न केही साताअघिदेखि बजार अनुगमनमा निस्केको टोलीले सोमबार मेचीनगरको ९ र १० स्थित धुलावारी बजारको अनुगमन गरेको छ ।

नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीको नेतृत्वमा निस्केको अनुगमन टोलीले किराना कोल्ड स्टोरलगायतका १० वटा पसलको अनुगमन गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

टोलीले सरकारले आयतमा प्रतिवन्ध लगाएका भारतीय गुणस्तरहीन अखाद्यवस्तु तथा म्याद गुज्रिएका खाद्यवस्तु नियन्त्रणमा लिइएको छ ।

पेय पदार्थ, दाल, चकलेट मसला नेपालमा प्रतिवन्धित ड्राईगन, दो फुललगायत नामै नसुनेका भारतीय आयल कम्पनीद्वारा उत्पादित तेल, उत्पादन तथा उपभोग्य मिति नभएका खाद्यवस्तु टोलीले नियन्त्रणमा लिएको टोली प्रमुख कार्कीले बताए । ती सवै वस्तु विभिन्न प्रतिनिधिहरुको रोहवरमा नष्ट गरिने नगरपालिकाले जनाएको छ ।

‘अनुगमनका क्रममा गैरकानुनी काम गर्ने व्यवसायीलाई हामीले सुध्रिने मौका दिएका छौ ’ टोली प्रमुख कार्कीले भने —‘अनुगमनका क्रममा नगरपालिकाको सूचना अवज्ञा गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरे कानुन बमोजिम कारवाही तथा ती सामाग्री जफत गर्ने, नष्ट गर्ने तथा दण्ड जरवाना समेत गरिने छ ।’

चाडपर्वको वहनामा कार्कीले अनाधिकृत रुपमा माछा मासुजन्य खाद्य वस्त, लत्ता, कपडालगायतका सामानहरुको मूल्य बृद्धि नगर्न, अनिवार्य रुपमा मूल्य सूची राख्न बील बिजकविना गैरहकानुनी रुपमा अखाद्य तेल, नुन, माछा मासुलगायतका अन्य खाद्यवस्तुको आयात तथा विक्री वितरण नगर्न, जथाभावी रुपमा अव्यवस्थित ढंगले फोहोर नफाल्न, माछा मासु विक्री वितरण व्यवस्थित रुपमा गर्न अनिवार्य व्यवसाय दर्ता गरी प्रमाण पत्र लिन, सार्वजनिक महत्वका स्थानहरु सडक, बन, विद्यालयलगायतका स्थानमा जथाभावी छाडा चौपाया नछोड्नसमेत सवैमा आग्रह गरेको छ ।

अनुगमन टोलीमा खाद्य विश्लेषक कार्की, झापा जिल्ला उपभोक्ता मञ्चका सन्तोष नेउपाने, मेची उद्योग बाणिज्य संघ मेचीनगरका नरबहादुर पौडेल, पशुसेवा केन्द्रका दीवाकान्त चौधरी, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी सहायक निरीक्षक दीपककुमार कडेललगायतको सहभागिता रहेको थियो ।