आश्रमलाई इष्टर्न लायन्सको सहयोग

दमक / झापाको दमक –२ मा रहेको निर्माणाधिन हाम्रो बाल आश्रमलाई स्थानीय लायन्स क्लब अफ दमक इष्टर्न लायनले रु ३० हजार रुपैयाँ सहयोग दिएको छ ।

सोमबार आश्रम परिसरमा क्लबले एक कार्यक्रम गरि सो रकम बराबरको चेक आश्रमका अध्यक्ष प्रकाश थापालाई हस्तान्तरण गरेको हो ।

लायन्स क्लबको रिजन चेयर पर्सन प्रहर क्षेत्रीको प्रमुख आतिथ्यता र क्लबका अध्यक्ष विमल शर्माको अध्यक्षतामा सो सहयोग हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा आश्रमका अध्यक्ष थापाले संस्थाको उद्देश्य असहाय तथा अनाथ , अपाङग बालबालिकाहरुलाई संरक्षण गरि संस्थाकै अभिभावकत्वमा शिक्षा,दिक्षा दिलाउने र पालनपोषण गर्ने रहेको बताए ।

सो आश्रम दमकका युवाहरुको सक्रियतामा करीब रु ३५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने क्रममा रहेको अध्यक्ष थापाले बताए । अव आश्रमलाई सम्पन्न गर्न थप रु ५ लाख रुपैयाँ आवश्यक रहेको आश्रमका सञ्चालक सदस्य तुलसीराम तिम्सिनाले जानकारी दिए ।