प्रधानमन्त्रीको गृहनगर दमक खुल्ला दिसामुक्त घोषणा

दमक / प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक सोमबार खुल्ला दिसामुक्त घोषित भएको छ । १५ स्थानीय तह रहेको झापामा खुल्ला दिसामुक्त घोषणा हुने दमक एघारौं स्थानीय तह हो ।

१४ हजार ४ उय ५२ घरधुरी रहेको दमक नगरपालिकामा अघिल्लो वर्षसम्म १३ हजार ७ सय १० घरधुरीमा सुरक्षित शौचालय निर्माण भएको र बाँकी ७ सय ४९ घरधुरीमा यस वर्ष शौचालय निर्माण गरी खुल्ला दिसामुक्त घोषणा गरिएको उपप्रमुख गीता अधिकारीद्वारा प्रस्तुत प्रगति प्रतिवेदनमा उल्लेख छ ।

सो अवसरमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले दमक नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरे ।

घोषणासभामा पोर्तेलले मुलुकका प्रधानमन्त्रीदेखि मन्त्री र राजनीतिक एवम् कर्मचारीतन्त्रमा झापाले नेतृत्व गरेको भए पनि सरसफाइ अभियानमा झापा पछाडि रहेको उल्लेख गर्दे सामाजिक समुन्नति र रुपान्तरणको नेतृत्व पनि अब झापाले गर्नुपर्ने जोड दिए ।

कार्यक्रमका अध्यक्ष एवम् दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पूर्ण सरसफाइ प्रतिवद्धता प्रस्तुत गर्दै सार्वजनिक क्षेत्र व्यवस्थापन गर्दै पूर्ण सरसफाइको यात्रामा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले दमक नगरपालिकालाई स्मार्ट सिटी बनाउने सूचकमध्ये खुल्ला दिसामुक्त घोषणा समेत एक प्रमुख सूचक भएको उल्लेख गरे ।

नगरपालिकालाई आगामी २ वर्षभित्र बालमैत्री नगरपालिका घोषणा गर्दै क्रमशः महिलामैत्री र अपांगमैत्री नगरपालिका घोषणा गर्ने योजना समेत नगर प्रमुख ओलीले प्रतिवद्धता जनाए ।

घोषणा समारोहमा नगरपालिकालाई खुल्ला दिसामुक्त अवस्थामा पु¥याउन सहयोग गर्ने संघसंस्था, निकाय र व्यक्तिहरुलाई नगरपालिकाको तर्फबाट सम्मान गरिएको थियो ।

नेपालकै होचो स्थानमा रहेको कचनकवल गाउँपालिका यही असोज २४ गते खुल्ला दिसामुक्त घोषणा हुँदैछ ।

सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिका, पूर्वको प्रवेशद्वारको रुपमा मेचीनगर र हल्दिबारी गाउँपालिका खुल्ला दिसामुक्त हुन नसकेका कारण यही असोज महिनामा जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्ने जिल्लाको लक्ष्य असफल भएको छ ।