अपाङ्ग बाल सरोकार केन्दलाई कर्णालीको ५० हजार सहयोग

विर्तामोड / कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अपाङ्ग बाल सरोकार केन्द्रका बालवालिकालाई ५० हजार रुपैयाँ प्रदान गरेको छ । झापाको अर्जुनधारा–६,स्थित अपाङ्ग बाल सरोकार केन्द्रका बालबालिकालाई दशैमा लगाउने लत्ताकपडा खरिदमा मद्यत गर्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको हो ।

कर्णालीले दशैको पूर्वसन्ध्यामा विर्तामोडमा आयोजना गरेको विपद् राहतकोष तथा दिगो फोहर व्यवस्थापनका चुनौती र सम्भावना विषयक अन्र्तक्रिया एवम् दशैको शुभकामना आदान प्रदान कार्यक्रममा सरोकार केन्द्रका शिक्षक ढुण्डीराज कोइरालालाई सो रकम हस्तान्तरण गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र विशिष्ठ अतिथि अर्जुनधाराका नगरप्रमुख हरीकुमार रानाले संयुक्त रुपमा संस्थाका शिक्षक कोइरालालाई उक्त रकम हस्तान्तरण गरका थिए ।

कर्णालीले संस्थाका कर्मचारीको एक दिनको तलव र सञ्चालक समितिको एकदिनको बैठक भत्ता बापतको रकम संकलन गरी जम्मा गरेको सचिव भूपाल बस्नेतले जानकारी दिए । सरोकार केन्दमा रहेका अपाङ्ग बालबालिकालाई दशैं मान्न मद्यत् होस् भनेर सानो सहयोग गरेको सचिव बस्नेतले बताए ।

कर्णाली सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दाहालले सहकारीले सिद्धान्त अनुरुप कार्य गर्नु पर्ने धारण व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी दाहालले भने–‘सहकारीले सिद्धान्त अनुसार चल्नपर्छ, सिद्धान्त अनुसार चलेन भने खाल्डामा परिन्छ ।’ उनले भने– ‘त्यसैले सहकारीले व्यवसाय गर्ने हो राजनीति होइन ।’

सहकारीले आयोजना गरेको विपद् राहतकोष र फोहर व्यवस्थापन विषयक अन्र्तक्रियामा अघिल्ला वत्ताहरुले उठाएका विषयमाथि टिप्पणी गर्दै प्रजिअ दाहालले त्यस्तो सुझाव दिएका थिए । कार्यक्रमा बोल्ने बक्ताहरुले वित्तिय संस्थाले बचत तथा ऋणको मात्र काम गर्ने हो फोहरमैला व्यवस्थापन लगायका विषयमा हात हालेर राजनीति गर्ने होइन भन्ने टिप्पणी गरेका थिए ।

कार्यक्रममा अर्जुनधाराका नगरप्रमुख हरीकुमार रानाले कार्यक्रममा उपस्थितहरुलाई शुभकामना दिंदै कर्णालीले संस्थाको उद्देश्य अनुसार सामाजिक कार्य गर्न लागेको प्रति धन्यबाद दिएका थिए ।

विर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले सहकारीले फोहर व्यवस्थापन र विपद्को कुरा उठाएर राजनीति गर्न खोजे जस्तो भो भन्दै फोहर व्यवस्थापनको विषय नगरपालिकाको भएको बताए । फोहर व्यवस्थापन गर्न खोज्दा राजनीति गरेर काम गर्न नदिएको भन्दै नगरप्रमुख शिवाकोटीले सहकारीलाई यो क्षेत्रमा प्रवेश गरेर राजनीति नगर्न आग्रह गरे ।

शुभकामना आदानप्रदान कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, विर्तामोड-४, नं वडाध्यक्ष कुलप्रसाद संग्रौला, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, होटल व्यवसायी संघका अध्यक्ष भोला उप्रेतीलगायतले मन्तव्य राख्दै सहकारीले शुरु गर्न खोजेको कार्य सराहनीय भएको बताएका थिए । संस्थाका उपाध्यक्ष इश्वरीप्रसाद खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भूपाल बस्नेतले गरेका थिए ।