विर्तामोड बचतको अध्यक्षमा पुनः उप्रेती

विर्तामोड / अध्यक्षमा सरोजकुमार उप्रेतीलाई निरन्तरता दिंदै विर्तामोड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार विर्तामोडमा भएको साधारणसभाले यो कार्यकालका लागि पुरानो समितिका अध्यक्ष उप्रेतीलाई नै संस्था सञ्चालनको जिम्मा दिएको हो ।

सञ्चालक समितिमा अधिकांश अघिल्लो कार्यकालका सदस्यहरु दोहोरिएका छन् । समितिको उपाध्यक्षमा पुरनलाल राजवंशी, सचिवमा उर्मीला बिमली (खरेल), सह–सचिवमा नारायण खरेल, कोषाध्यक्षमा मनिता बिमली (चुडाल) रहेका छन् । सदस्यमा क्रमशः राजु शाह, पार्वता बिमली (खरेल), शारदा ठकुरी, रमेशप्रसाद पोखरेल र त्रिलोचन ओली चयन भएका छन् ।

साधारणसभाले एक जना सदस्य पछि मनोनित गर्ने गरी शाह र ओली बाहेक सबै पुरानै सदस्यलाई जिम्मेवारी दिएको नवनिर्वाचित अध्यक्ष सरोजकुमार उप्रेतीले जानकारी दिए ।

त्यस्तै, साधारणसभाको बन्दसत्रले संस्थाको लेखा समितिमा अघिल्लो समितिका संयोजक नरप्रसाद उप्रेतीलाई दोहोर्याएको छ भने सदस्यमा बिष्णुमाया पाठकलाई निरन्तरता दिएको छ । लेखा समितिलाई पूर्णता दिन एक जना सदस्य पछि थप गरिने बताइएको छ । साधारणसभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रगती प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रमको खुलासत्रमा संस्थाका अध्यक्ष उप्रेतीले प्रतिवेदन प्रस्तुत गर्दै २५ जनाबाट ०६९ सालमा शुरु भएको संस्था छैटौं वर्षमा प्रवेश गर्दा एक हजार ४११ जना शेयर सदस्य पुगेको जानकारी दिए ।

हाल संस्थाको शेयरपुँजी ६० लाख ६६ हजार ७५० रुपैंया रहेको छ भने आर्थिक वर्ष ०७४ /०७५ मा ३ करोड ५९ लाख ५८ हजार ६७४ रुपैया निक्षेप संकलन, ३ करोड ७१ लख ४७ हजार १३१ रुपैयाँ फिर्ता र ८ लाख ७२ हजार ५८१ रुपैयाँ संस्थामा बाँकी रहेको जानकारी दिइयो ।

सहकारीले जेष्ठ सदस्यको रुपमा चन्द्रमाया शिवाकोटी, असल बचतकर्ताको रुपमा अर्जुन गिरी र समर शाह, उत्कृष्ट ऋणीको रुपमा प्रेम रुचाल र रुपा भण्डारीलाई प्रशंसापत्र र नगद सहित सम्मान गरेको छ । त्यस्तै, संस्थाले कर्मचारी कृष्णमाया कार्कीलाई सम्मानपत्र र नगद प्रदान गरी बिदाइ गरेको छ । पुरस्कृत सबैलाई कार्यक्रममा प्रमुख अतिथी र संस्थाका अध्यक्षले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

सरोजकुमार उप्रेतीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन जिल्ला बचत संघका सह–सचिव उपेन्द्र ओलीले गरेका थिए । कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, मनमोहन सामुदायिक अस्पतालका कोअर्डिनेटर रोमनी भट्टराई, नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुष्मा भण्डारी, राष्ट्रिय सहकारी बैंक विर्तामोड शाखा प्रमुख सबिना बस्नेत, मयुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सह–सचिव नारायण खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उर्मिला बिमली (खरेल) ले गरेकी थिइन् ।