५ वर्षीय बच्चाले लाइटर खेलाउँदा मेचीनगर बाँसबारीमा धानको कुनिउ खरानी (हेर्नुहोस् भिडियो)

गोपिन पोखरेल

बाँसबारी  मेचीनगर /  झापाको मेचीनगर–११, बाँसबारी बनभोज स्थलनजिक आगलागी हुँदा एकसय बीस मन धानको दुईवटा कुनिउ जलेर नष्ट भएको छ । सोमबार विहान ११ बजेतिर सल्केको आगोले तीर्थराज नेपालको ‘रञ्जीत’ जातको धानको दुईवटा कुनिउ जलेको हो ।

घरकै सानो ५ वर्षीय बालकले लाइटरसँग खेल्ने क्रममा  विहान ११ बजेतिर आगो सल्काई दिएपछि कुनिउ जलेको कुनिउ धनी नेपालले बताए । ‘आजै दिउसो २ बजे थ्रेसर लगाउने भनेर थ्रेसर बोलाएको थियो’– नेपालले भने ‘नानीले खेल्ने क्रममा लाइटरले आगो सल्काई दिएछ । वर्षभरी खाने धान जलेर नष्ट भो ।’ नेपालको उक्त कुनिउमा गएराती आएको जंगली हात्तीले १०/१५ मन जती धान खाएर नष्ट गरेको थियो ।

हात्तीले दुःख दिन थालेपछि सोमबार नै कुनिउमा थ्रेसर लगाउने योजनामा थियो नेपाल परिवार । थ्रेुसर लगाएर नेपाल परिवारका तीन भाई दाजुभाइले धान बाँड्ने सुर गरेका थिए ।

                                                                      हेर्नुहोस् आगलागीको लाइभ भिडियो

तर, सोही दिन विहान अचानक आगो लाग्दा खबै छक्क परेको स्थानीयले बताए । हामी त छिमेकमा एक जनाको धान काट्न खेताला गएका थियौ एक्कासी धुवाँको मुस्लो देखेपछि आगो लागेको थाहा भएको छिमेकीले बताए ।

आगोले एउटा कुनिउ पुरै जलेर नष्ट भएर अर्को आधा कुनिउ जलेपछि मेचीनगर नगरपालिकाको बारुण यन्त्र, स्थानीयबासी र बाँसबारीमा बनभोज खान गएको सतासी बहुमुखी सहकारी संस्थाका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगो निभेपछि एउटा कुनिउको केही धान मात्र बचेको थियो । घटना स्थल पुगेको इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीका सई काजीबहादुर बस्नेतले नेपाल परिवारको डेढ विगाहा खेतको १२० मन धानको कुनिउ जलेको बताए ।