सतासी साकोसको बनभोज बाँसबारीमा ! रमाइलो खेलमा ४ जना पुरस्कृत

विर्तामोड  / विर्तामोडमा उत्कृष्ट सुपथ मुल्यको सहकारी पसल सञ्चालन गर्दै आएको सतासी बहुमुखी सहकारी संस्था लिमिटेडले सोमबार मेचीनगरको बाँसबारीमा बनभोज कार्यक्रमको आयोजना गरेको छ ।

सहकारीले संस्थाका कर्मचारीको ‘रिफ्रेसमेन्ट’ र आन्तरिक पर्यटन प्रबर्धनका लागि वर्षेनी आयोजना गर्दै आएको बनभोज कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिएको संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठले बताए ।

बनभोजमा सतासी सहकारीका र सहकारीद्धारा सञ्चालित सुपथ मुल्यको पसलका गरी लगभग ८० जना सञ्चालक समिति र कर्मचारीको सहभागिता थियो ।

संस्थाले वर्षेनी आयोजना गर्ने बनभोजमा संस्थाको नभई सञ्चालक समिति र कर्मचारीले आफ्नै खर्चमा ‘पिकनिक’ को आयोजना गर्ने गरेको संस्थाका प्रबन्धक सञ्तोष श्रेष्ठले जानकारी दिए ।

बनभोज मेचीनगर नगरपालिका–११, स्थित बाँसघारी ‘पिकनिक स्पोट’ मा आयोजना गरिएको थियो । बनभोजको अवसरमा संस्थाका सञ्चालक समिति र कर्मचारी मिलेर रमाइलो विभिन्न खेल तथा मनोरञ्जनात्मक कार्यक्रम गरेका थिए ।

कार्यक्रममा म्यूजिकल चियर, तातो आलु, नृत्यलगायतका खेलमा सहभागीले प्रतिष्पर्धा गरेका थिए ।  महिलातर्फ म्यूजिकल चियरमा निशा भट्टराई, सीता पुरी, पुरुषतर्फ गरामनीका कुमार दर्नाल, सञ्चालक समिति र कर्मचारीको संयुक्त टोलीले खेलेको तातोआलु खेलतर्फ उमेश चौहान विजेता भएका थिए ।

विजेता चारै जनालाई संस्थाका अध्यक्ष श्रेष्ठले पुरस्कृत गरेका थिए । कार्यक्रममा संस्थाका प्रबन्धक सन्तोष श्रेष्ठ, सतासी ‘डिर्पाटमेन्टल स्टोर्स’ का संयोजक पदम ओलीलगागतले संस्थाका गतिविधी बारे जानकारी गराएका थिए ।