कविता – युग नयाँ नेपालको

कविता-

कृष्णप्रसाद पाठक-

अस्थिपन्जरको त्यो स्तम्भलाई
सुकेको छालाले लपेटेर
जिन्दगी घिसार्दै गरेका
खबटे र झुस्स दाह्री अनुहारका
पल्ला घरे ठूले दाइ
पुरानो खोसेलोमा लपेटिएको
सुर्तिलाई सकि नसकी चुसेर
एकमूठी प्रश्वास सँगै
विवश जीवनको तितो यथार्थलाई
धुँवाको मुस्लो बनाई छोड्छन् ।

अगेनाको डिलमा बसेर ठूली भाउजू
धुस्रै र फुस्रै मैला हातहरु
हो कि होइन भन्ने तातोका
फिलिङ्गाहरु खरानीसँगै उडाउँदै
रित्तो जीवनका अनगिन्ति रहरहरु
आगो कोट्याउँदै टोलाएर हेर्दैछिन् ।

बलेसीको एक कुनामा गुन्द्रीमा बसेकी छोरी
बैँस पोखिएर आउन सक्ने हुरी
उत्ताउलिएर गाउँ पाखा हल्लिने हो कि
त्रसित र भ्रमित नजरहरुले
चारैतिर नियाली रहेका छन् ।

पट्पटी फूटेका हात गोढाहरु
अभाव पस्किएर तमासामा छन्
एक मूठी प्राण धान्नका लागि
सकि नसकी घिस्रिरहेका छन्
पराले छानो वाँसका डाँडा भाटाहरु
धमिरा र किराहरुको प्रहारले
अडिने नअडिने ठेगान छैन ।

खालीछन् ढिकुटीरुपी माटाका घैलाहरु
खालिछन् धनरुपी कपडाका थैलाहरु
वर्तमान संकटग्रस्त बनेको बेलामा
भविश्य जोहोको के अर्थ रहन्छ होला ?

घर नाङ्गो छ विरुप छ
नेताको आश्वासनमा अड्किएको छ
गाँस बास र कपासको सुनिश्चितता
लङ्कामा सुन छ कान मेरो बुच्चै
यहि उखानसँग मेल खान्छ ।

तिमी अघाएको मान्छे
भोक के हो आज विर्सिएका छ्यौ
तिम्रो घरको जग खोतलेर हेर
तिनीहरु कै पसिना तप्प-तप्प चुहिन्छ
जुन दिन खुट्टा फूटेकाहरुको
पेट आनन्दले रमाउँनेछ
आङ् चिसो तातोबाट जोगिने छ
र वास त्रासविहीन हुनेछ
त्यो दिन नै नयाँ युगको
शुभारम्म भएको मानिनेछ
समृद्धितिर उन्मुख भएको ठानिनेछ
नेपाल साँच्चै नयाँ नेपाल हुनेछ ।।।