अपाङ्गता दिवसमा ह्वील चियर, सेतो छडी र ब्याग

गंगा बराल-

भद्रपुर /अपाङ्गता भएकाहरुलाई आवश्यकताअनुसार सहयोग सामग्री वितरण र दुईजनालाई सम्मान गर्दै भद्रपुरमा २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।

भद्रपुर नगरपालिकाअन्तर्गत गठित अपाङ्गता नगर समितिको आयोजनामा सोमबार भद्रपुरको मोहपाल धर्मशालामा एक समारोहका बीच दिवस मनाइएको हो । कार्यक्रममा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा, कञ्चनजङ्घा जनकल्याण अपाङ्ग संघ, अपाङ्ग तथा महिला पुनस्र्थापना समाज भद्रपुरको सहकार्य रहेको थियो ।

नगर समितिका अध्यक्ष धनजुजु श्रेष्ठको अध्यक्षता र सचिव ऋषि चापागाईंको सञ्चालनमा आयोजित समारोहका अवसरमा हिँड्न नसक्ने अपाङगता भएका पाँचजनालाई ह्विल चियर वितरण गरिएको थियो भने, नेत्रहीनहरुलाई सेतो छडी र अपाङ्गता भएका अन्य २० जनालाई ब्याग वितरण गरिएको थियो ।

समारोहका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, ५ नं वडाध्यक्ष बन्धु कार्कीलगायतले सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

यसैगरी, अपाङ्गता भएकाहरुको अधिकार प्राप्ति र उनीहरुको हकहितमा क्रियाशील झापा पृथ्वीनगर निवासी नरेन्द्र गुरुङ र अपाङ्गता भएर पनि उद्यमी बनेर आफ्नै पौरखले बाँचिरहेकी शीला प्रधानलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगरप्रमुख श्रेष्ठले सम्मानपत्र प्रदान गरे ।

नगरभित्रका सबैखाले अपाङ्ता भएकाहरुको उपस्थिति रहेको समारोहमा प्रमुख अतिथि श्रेष्ठले नगरपालिका अपाङ्ता भएकोहरुको क्षमता विकास र सहयोगका लागि सधैं तत्पर रहेको बताउँदै अपाङ्गता भएकाहरुको क्षेत्रमा काम गर्ने गरी नगर समिति गठन गरिएको जानकारी दिए ।

नेत्रहीन जेठा मुर्मले मर्मस्पर्सी गीत प्रस्तुत गरेको समारोहमा उपप्रमुख चन्द्रा श्रेष्ठ, वडाध्यक्ष बन्धुकार्की, नेपाल क्षयरोग निवारण संस्था भद्रपुरका अध्यक्ष गोपालबहादुर थापालगायतले शुभकामना व्यक्त गरेका थिए । यस वर्षको अपाङगता दिवसको नारा ‘मलाई गणना गर, समावेश गर’ भन्ने रहेको अध्यक्ष धनजुजु श्रेष्ठले जानकारी दिए ।