‘राजनीतिक शक्ति र पार्टीको अकर्मन्यताले हिन्दु धर्म संकटमा पर्यो’ -राप्रपा महामन्त्री लिङ्देन

विर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा झापाले विर्तामोडमा वृहत हिन्दुत्व जागरण सभा आयोजना गर्ने भएको छ । राप्रपा झापाले जागरणसभाको तयारीबारे जानकारी दिने उद्देश्यले बुधबार पत्रकार सम्मेलन गरी मंसिर २२ गते विर्तामोडमा वृहत हिन्दुत्व जागरणसभा गर्ने जनाएको हो ।

कार्यक्रमबारे जानकारी दिंदै राप्रपा महामन्त्री एव संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनले नेपालीहरुको सास्कृतिक पहिचान हिन्दु धर्म नै संकटमा पर्न लागेकोले हिन्दुत्व संरक्षणको लागि जागरणसभा आयोजना गर्न लागिएको वताए ।

संगठन विभाग प्रमुख लिङ्देनले नेपाल बैदिक सनातन एवम् हिन्दु राष्ट्र हुनुपर्छ भन्ने मान्यता राखेर पार्टी विगतदेखि नै अघि बढी राखेको बताए ।

‘हामीले हिन्दु राष्ट्रको कुरा गरी रहँदा एक जातीले मान्ने धर्मको मात्र कुरा गरिराखेका छैनौं’ राप्रपा महामन्त्री लिङ्देनले भने–‘यो त नेपाली जनताको एकता र पहिचानसँग गाँसिएको विषय हो त्यसकारण नेपाल धर्म निरपेक्ष होइन हिन्दुराष्ट्र हुनुपर्छ भनेर विगतदेखि भनी आएका छौं ।’

‘धर्म निरपेक्षताका कारण धार्मिक द्धन्द्ध बढ्न सक्छ, धर्म परिवर्तनले प्रसय पाउन सक्छ भनेका थियौ, त्यो अहिले आएर प्रमाणित हुदै गएको छ’, महामन्त्री लिङ्देनले भने ‘अहिले झन ठूलो संकट ल्याउने काम भएको छ, त्यसको राजनीतिक दलहरु नै सम्भाहक भए ।’

राजनीतिले नै त्यो धर्म पविर्तन गर्ने परिस्थिती निर्माण गरेको लिङ्देनले आरोप लगाए । ‘कुनै अन्य धर्मले भन्दा राजनीतिक शक्ति र पार्टीको अर्कमन्यताले नै यो परिस्थिती निम्तिएको हो’, लिङ्गदेनले भने ‘यसलाई रोक्न यसको अगुवाइ पनि राजनीतिक पार्टीले नै गर्नुपर्छ भनेर राप्रपाले यसको अगुवाइ गरेको हो ।’

धर्म रक्षाको यो महाअभियान केवल राप्रपा पार्टीको मात्र नभएर सिंगो ओमकार परिवारको पनि भएकाले एकजुट भएर लाग्न महामन्त्री लिङ्देनले आग्रह गरे । धर्म संस्कृती नै संकटमा परेको वर्तमान अवस्थामा त्यसको रक्षाको लागि सवै एकजुट हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।

हिन्दुत्व जागरण सभामा राप्रपा अध्यक्ष कमल थापा, महामन्त्री लिङ्गदेन केन्द्रीय नेता तथा अन्य ओमकार परिवारका बक्ताहरुले सम्बोधन गर्ने बताइएको छ । त्यसको लागि राप्रपाले गाँउ, नगर तथा पार्टीका तल्लो तहका कमिटीहरुलाई परिचालन समेत गरेको जनाएको छ ।

वृहत हिन्दुत्व जागरण सभा सफल पार्न जिल्ला अध्यक्ष अम्वर विष्टको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मुल आयोजक समिति निर्माण गरीएको छ । त्यस्तै, संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सदस्य रहेको निर्देशन समन्वय सिमिति गठन गरीएको छ ।

यसैगरी, केन्द्रीय सदस्य वासुदेव भट्टराईको संयोजकत्वमा धार्मिक व्यक्तित्व सम्पर्क समन्वय समिति, जिल्ला उपाध्यक्ष कमल खरेलको संयोजकत्वमा आर्थिक समिति, जिल्ला सचिव केशव ओझाको संयोजकत्वमा पारवहन व्यवस्थापन समिति, मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाईको संयोजकत्वमा प्रचार प्रसार समिति,तथा स्वम सेवक व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति पनि निर्माण गरीएको छ ।