यस्तो छ हल्दिबारीको भेलागडी जंगलमा बन्ने लोकतान्त्रिक स्मृती पार्क

आर्थिक समाचार पर्यटन पर्यावरण समाचार

गोपिन पोखरेल –

हल्दिबारी / हल्दिबारी वडा नं -२ मा पर्ने भेलागडी जंगलमा गाँउपालिकाले लोकतान्त्रिक स्मृती पार्क निर्माण गर्ने भएको छ ।
लोकतान्त्रिक स्मृती पार्कको डिपीआर निर्माणका लागि चालु आर्थिकवर्ष प्रदेश सरकारको तर्फबाट १ करोड ३० लाख र हल्दिबारीको दोस्रो गाँउसभाले १० लाख छुट्याई १ करोड ४० लाख रुपैया बजेट विनियोजन गरिएको गाँउपालिकाका प्रवक्ता सागर पोर्तेलले जनाएका छन् ।

लोकतान्त्रिक स्मृती पार्कको डिजाइन


डिपीआर बमोजिम सो पार्क ८ करोड ३९ लाख ३१ हजार ४ सय ५६ रुपैयाको लागतमा निर्माण सम्पन्न गर्ने गाँउपालिकाको मंसीर ५ गते बसेको बैठकले निर्णय गरेको छ ।

भेलागडीमा पार्क निर्माणको लागि गाउपालिकाको पहिलो गाउसभाबाटै पारित भएको र त्यसलाई कार्यान्वयन गर्न गाँउपालिकाको बैठकले निर्णय गरेको प्रवक्ता पोर्तेलले बताए ।

हर्चना दक्षिण देवनीया खोलाको संगमस्थलको रुपमा रहेको भेलागडी जंगल ९१.५६ हेक्टरमा फैलिएको छ । गाउपालिकाले भेलागडी जंगलमा बन्ने स्मृती पार्कलाई बहुवर्षे आयोजनाको रुपमा स्विकृत गरेको छ ।

गाँउपालिकाले गौरवको आयोजनाको रुपमा यसलाई अघि बढाउने बताएको छ । पार्कमा कम्पाण्ड सहितको प्ले ग्राउण्ड, चिल्ड्रेन पार्क, भ्यू टावर लगायतका संरचना निर्माण गरिने छ । स्मृती पार्क ५ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ ।

यहाँ साल, टिक, मसला, कालिकाठ, करमलगायतका रुख तथा बनस्पति पाइनुका साथै स्याल खरायो न्याउरी मुसो जस्ता जनावरको बासस्थान छ ।

उक्त स्मृती पार्क निर्माण गर्नका लागि अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको संयोजकत्वमा उपाध्यक्ष डम्बरबहादुर गिरी, वडा नं २ का अध्यक्ष राजेन्द्र योङहाङ, भौतिक पूर्वाधार समितिका संयोजक सागर पोर्तेल र प्रमुख प्रशासकीय अधिकृत रहेको समितिलाई जिम्मेवारी दिने निर्णय भएको जनाइएको छ ।

गाउपालिकाले आर्थिक समृद्धी हासिल गर्न ‘फेरी पनि घुम्न जाउँ हल्दिबारी गाँउ’ भन्ने कार्यक्रम अघि सारेको छ ।

कार्यपालिका बैठकले साविक जलथलको जलथल जंगललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने पनि निर्णय भएको प्रवक्ताले जानकारी दिएका छन् । हल्दिबारीले स्थानीय बनजंगल र धार्मिक स्थललाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना गाउसभाबाट पारित गरेको छ ।