साठीमुरे पर्यटकीय गन्तव्य बन्दै

आर्थिक समाचार कृषि पर्यटन पर्यावरण समाचार

सागर गौतम

अर्जुनधारा / पछिल्लो समय अर्जुनधारा नगरपालिका र माई नगरपालिकाले एक आपसमा पर्यटकीय विकास र व्यापार प्रर्वधन गर्न अध्ययन शुरु गरेको छ ।

यसै क्रममा अर्जुनधारा र माई नगरपालिका बीच दुई पक्षीय प्राविधिक अध्ययन र छलफल समेत अघि बढेको छ ।

अर्जुनधारा–२ र माई–५ नगरपालिकाको सिमानामा पर्ने साठीमुरे क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न एकिकृत कार्यक्रम सञ्चालनका लागि प्राविधिक अध्ययन र छलफल समेत अघि बढाएको छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, माई नगरपालिकाका प्रमुख दिपक थेवे सहित प्रदेश सांसद काजीमान कागते बीच उक्त क्षेत्रको विकासको लागि सक्रियता पूर्वक लाग्ने सहमति भएपछि काम अगाडि बढेको हो ।

उक्त स्थानमा दुई नगरपालिकाको साझेदारीमा बुद्धको मूर्ती ५० फुटको रहने छ । जसमा मत्स्य अवतार, कूर्म अवतार, बराह अवतार, नृसिँह अवतार, वामन अवतार, परशुराम अवतार, श्रीराम अवतार, कृष्ण, बलराम वा बुद्ध र कल्की अवतारसम्म रहनेछ ।

त्यसमा भ्यु टावर पनि रहने बताइएको छ । साठीमुरेमा होमस्टे संचालन, सहकाले झरनाको विकास सहित खानेपानीलाई व्यवस्थितसँगै रिचार्ज गरिने छ ।

साठीमुरे कल्भर्टमा साझेदारी गर्ने, महत्वपूर्ण स्थलहरुको अध्ययन गरी पर्यटनको विकास गर्ने विषयमा छलफल केन्द्रित भएको अर्जुनधारा–२ का वडाअध्यक्ष रघुनाथ खनालले जानकारी दिए । पर्यटन विकासमा दुई नगर र प्रदेश सरकारले समेत सहकार्य गर्ने गरी छलफल अगाडि बढेको उनले जानकारी दिए ।

साठीमुरे पुगेर इलाम क्षेत्र न–१ प्रदेश सांसद कागतेले साठीमुरे भूगोल उपयुक्त भएको बताउँदै पर्यटकीय क्षेत्रको विकासका लागि योजना तय गरे पर्याप्त मात्रामा बजेट व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको बताए ।

दुईपक्षीय छलफलको क्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले सन् २०२० मा नेपाल सरकारले गर्न लागेको नेपाल वर्षमा लाखौं पर्यटक भित्र्याउने योजनालाई साकार बनाउन नगरले नयाँ गन्तव्य खोजी गरी पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको बताए ।
टाङटिङ नदी किनार हुँदै पदमार्ग सहकाले सम्मका लागि आफूले गृहकार्य गरिरहेको बताए । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले प्रचुर संम्भावनाले भरिपूर्ण नगर भएकाले आकर्षण केन्द्रको रुपमा विकास गर्न अघि बढेको रानाले बताए ।

माई नगरपालिकाका प्रमुख दिपक थेवेले भौतिक पूर्वाधार सहितको पर्यटनका लागि आफू लागि परेको बताउदै कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति हुनुपर्नेमा जोड दिए ।

थेवेले भने– ‘साठीमुरेबाट १ घण्टाको दूरीमा विविध संस्कृति पाइन्छ, छुरेमा टावर र खरबन्दीको पर्यटकीय स्थलको विकासमा समेत ध्यान केन्द्रित गरेर दुई नगरपालिकाका सहयात्रा गरी अघि बढ्नुपर्ने जरुरी रहेको बताए । नगरको सिमाको विवाद नगरी विकासमा एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

बेलटार खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष छिमेकी दुई पालिका बिच सहकार्यमा पर्यटकीय गन्तव्यको स्थल बनाए स्थानीयलाई गतिलो आम्दानीको श्रोत हुन सक्ने विश्वास व्यक्त गरे ।