काँकरभिट्टामा आगलागी, २२ घर जलेर नष्ट

काँकरभिट्टा / झापा मेचीनगर–६ काँकरभिट्टास्थित साठीविघामा बिहीबार राति भएको आगलागीमा २२ वटा घर जलेर खरानी भएका छन् ।

गए राति करिब साढे ८ बजेदेखि लागेको एक घण्टाभित्र नियन्त्रणमा आएको भएपनि २२ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र दुईवटामा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

मेची नगरपालिका, बिर्तामोड, चन्द्रगढीको दमकल, सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । बालेको टुकी ग्यास सिलिन्डरले भेटेर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्।

अगालागीबाट मानवीय क्षति भएको छैन। उक्त क्षेत्र काकरभिट्टा बजारको बधशाला क्षेत्र पर्छ।

आगलागी पीडितले आगो लागेको ३० मिनेटमा मात्र दमकल आएकोमा आक्रोस पोखेका छन्।

आगलागी पीडितका लागि नेकपाका कार्यकर्ताले स्थायी रुपमा त्यहीँ बसोबास गर्ने १६ परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ र त्यहाँ पेशा गर्ने तर बाहिर घर हुनेलाई प्रति परिवार पाँचहजार रुपैयाँका दरले राहत वितरण गरेका छन्।

अन्य राहतका लागि रेडक्रसका सदस्यहरु खटिएका छन्।

खबरमञ्च र तहल्काखबरको सहकार्य