झापा बन्यो ६२ औं खुल्ला दिसामुक्त जिल्ला

झापा /  एक भव्य कार्यक्रमका बीच शुक्रबार झापा जिल्ला खुला दिसामुक्त घोषणा गरिएको छ ।

प्रदेश समितिले स्थलगत अनुगमन गरी स्वीकृतिपत्र प्रदान गरेपछि झापा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । झापा ६२ औँ जिल्लाको रुपमा खुला दिसामुक्त भएको हो ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष मनोज घिमिरे, युएन ह्याबिट्याटका व्यवस्थापक सुधा श्रेष्ठ र प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्वाहाङफेले खुला दिसामुक्तको प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै, युएन ह्याबिट्याटका तर्फबाट जिल्लालाई बधाईपत्र प्रदान गरिएको थियो ।

यसअघि पटकपटक मिति तय भए पनि स्थानीय तह खुला दिसामुक्त घोषणा हुन नसकेका कारण कार्यक्रम स्थगित हुँदै आएको थियो । मंसिर २७ गते मेचीनगर र हल्दिबारी एकै दिन खुला दिसामुक्त घोषणासँगै झापाका सम्पूर्ण स्थानीय तह खुला दिसामुक्त घोषणा भएका थिए । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रदेशलाई अनुगमन र स्वीकृतिका लागि पत्राचार गरेको भए पनि अनुगमनमा ढिलाइ भएका कारण पनि जिल्ला घोषणमा ढिलाइ भएको थियो ।

आधाररेखा सर्वेक्षणको क्रममा रहेका १ लाख ८२ हजार २ सय १५ घरधुरीमध्ये सबै घरधुरीमा नै अहिले चर्पीको पहुँच भएको समितिले जनाएको छ । अभियान सुरु हुनुअघि झापामा ३९ हजार २ सय ८७ घरधुरीमा सुरक्षित चर्पीको पहुँच पुगेको थिएन ।

घोषणा समारोहमा झापाका सबै स्थानीय तहबाट सांस्कृतिक झाँकी प्रस्तुत गर्नुका साथै राष्ट्रिय कलाकारहरु राजा राजेन्द्र र टिका भण्डारीबाट गीत र प्रहसन प्रस्तुत गरिएको थियो । सोही अवसरमा खुला दिसामुक्त अभियानका सिकाइहरुको दस्ताबेज सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा खुला दिसामुक्त अभियानमा सहयोग गर्ने विभिन्न व्यक्ति र क्षेत्रलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । त्यसरी सम्मान तथा पुरस्कृत हुनेहरुमा सञ्चारमाध्यमतर्फ विवेचना दैनिकका सम्पादक हिमाल खरेल, नयाँ पत्रिका दैनिकका सम्वाददाता लक्ष्मी काफ्ले, अन्नपूर्ण पोस्ट दैनिकका सम्वाददाता रविन भट्टराई र राधा खनाल तथा निर्माण लहर साप्ताहिकका सम्पादक रोहित काफ्ले छन् ।

त्यस्तै, उत्कृष्ट अभियान संयोजकका रुपमा सोमनाथ आचार्य, एरिया संयोजकमा गुलाम मोहम्मद शेख, सरसफाइ प्रज्वलकमा नमिता बस्नेत काफ्ले, सुरक्षा निकायतर्फ बनियानीका प्रहरी नायव निरीक्षक उदय शमशेर राणा, जनप्रतिनिधिमा झापा ४ का वडा अध्यक्ष राजु भारती, मेचीनगर १० की वडा सदस्य धिराकुमारी लिम्बू छन् ।

त्यस्तै, अथक अभियानकर्ताका रुपमा खानेपानी डिभिजनका फोकल पर्सन रुद्रबहादुर न्यौपाने, सरसफाइ योद्धाका रुपमा ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रमका झापा संयोजक विनोद शर्मा र जिल्ला समन्वय सदस्यहरुमध्ये निरन्तर अनुगमनमा सक्रिय बाबुराम कार्कीलाई सम्मानपत्र प्रदान गरियो ।

त्यस्तै, साविक सचिवहरु र सम्मान साझेदार संस्थाहरुलाई समेत सम्मान गरिएको थियो । उनीहरु सबैलाई प्रमुख अतिथिले सम्मानपत्र प्रदान गरेकी थिइन् ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुम्वाहाङ्फे र नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य, झापाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारी, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

तहल्काखबर र विवेचना डटकमको सहकार्य