नेकपाका ४० भन्दा बढी कार्यकर्ता राप्रपामा प्रवेश

राजनीति समाचार स्थानीय

झापा / हिन्दू धर्मको संरक्षण गर्नुपर्छ भन्दै विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेको लहर बढेको छ । राप्रपाले निरन्तर हिन्दू राष्ट्रको मुद्दा बोकेर आन्दोलन गर्दै आएकाले पार्टी प्रवेश गर्नेको संख्या बढेको हो ।

झापामा पछिल्लो समय युवादेखि बृद्धसम्मकाले राप्रपा रोज्न थालेका छन् । अन्य पार्टीले हिन्दू राष्ट्र बनाउन पहल नगरेको भन्दै उनीहरु पार्टी परित्याग गर्दै राप्रपामा प्रवेश गर्दैछन् ।

शनिबार बाह्रदशी गाउँपालिकाका ४० जनाभन्दा बढी राप्रपामा प्रवेश गरे । बाह्रदशी–६ का नेकपाका सक्रिय कार्यकर्ता युवराज उप्रेती लगायतको एउटा समूह नै राप्रपा प्रवेश गरेको हो । नवप्रवेशी सबैलाई राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन र झापा उपाध्यक्ष कमल खरेलले स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरे ।

शनिबार राप्रपा प्रवेश गरेका उप्रेती २०५२ सालदेखि नेकपा एमालेमा सक्रिय थिए । पार्टीले गरेका बाचाबन्धनहरु पूरा हुन छाडेपछि आफू निराश भएको उनले बताए ।

‘नेकपाले उल्टो काम मात्र गर्न थाल्यो, पहिले गरेका बाचाहरु सबै बिर्सियो,’ उनले भने, ‘कुनै पूर्वाग्रह राखेर मैले यो निर्णय गरेको होइन, अरु पार्टीलाई धर्मप्रति चासो नै छैन ।

धर्म जोगाउनकै लागि म राप्रपामा आएको हुँ ।’ उप्रेती तत्कालीन नेकपा एमालेमा राम्रो छवी भएका कार्यकर्ताका रुपमा चिनिन्थे ।

पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै राप्रपा महामन्त्री लिङ्देनले आफू र आफ्नो पार्टीबाट कहिल्यै धोका नहुने स्पष्ट पारे ।

आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने उनको भनाइ थियो । पार्टी प्रवेश गर्नेहरुलाई लिङ्देनले भने, ‘जे समस्या आइपर्छ मलाई सम्झिनु, म अभिभावक भएर लागिपर्ने छु ।’