जलेश्वर धामले गर्यो अनुष्ठान आयोजक उपसमिति विगठन

अर्जुनधारा / अर्जुनधारा ७, जलेश्वर धामले ३६ औं वार्षिक अनुष्ठान सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिंदै गठित उप समितिहरु विगठन गरेको छ ।

जलेश्वरधामले अनष्ठान सम्पन्न गर्न विभिन्न व्यक्तित्वहरुको संयोजकत्वमा उपसमितिहरु गठन गरेको थियो । जलेश्वरधामले शनिबार अनुष्ठानको आयव्यय सार्वजनिक गर्दै उपसमितिहरु विगठन गरेको हो ।

अनुष्ठानबाट विभिन्न शिर्षकमा गरी ५४ लाख २७ हजार ८८६ रुपैया रकम संकलन भएको र ३५ लाख २९ हजार ७७० रुपैया खर्च भएको धाम सञ्चालक समितिले जानकारी दिएको छ । अनुष्ठानबाट १८ लाख ९८ हजार ११६ रुपैया बचत भएको पनि बताइएको छ ।

धामले आगामी वर्षमा धाम विकास गुरु योजना ‘मास्टर प्लान’ निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाउदै चाडो सम्पन्न गर्ने बताएको छ ।

गुरु योजनामा पुष्पलाल स्मृती सन्त निवासको पूर्णता दिने, खडेबाबा स्मृती पार्कको पूर्णता , मोक्षेश्वर शिवलिङ्ग स्थापनाको विस्तृत अध्ययन तथा निर्माण सुरुवात गर्ने, भूमि विस्तार तथा धाम व्यवस्थित गर्नेलगायत छन् ।

त्यस्तै, ‘मास्टरप्लान’ भित्र वैदिककालको गुरुकुल जस्तै गुरुकुल निर्माण एवम् सो सञ्चालनका लागि १ करोड रुपैयाको अक्षय कोष स्थापना गर्ने, अन्नदाता अक्षयकोषलाई बृद्धी गर्दै १ करोड पुर्याउने, धामको स्थापना र विकासत्र्रmमबारे स्थायी प्रदर्शनी राख्ने, दैनिक गंगा आरती गर्न आवश्यक कार्य गर्ने,सामुदायिक तथा धार्मिक भवन निर्माण गर्ने र गौशालालाई व्यवस्थित गर्नेलगायतका योजना पर्ने बताइएको छ ।

अनुष्ठान समापनका अवसरमा धामको स्थापना कालदेखि २०३३ र ४० सालका कार्यसमिति, पदा धिकारीलगायत तत्कालिन शिव पुराँण आयोजक समितिलाई सम्मान गरेको धामका अध्यक्ष नविन गट्टानीले बताए ।