अग्नी पीडितलाई नगरपालिकाले दियो राहत रकम

आर्थिक समाचार समाचार समाज

मेचीनगर / काँकरभिट्टास्थित साठीविघाका आगलागी पीडितलाई मेचीनगर नगरपालिकाले शनिबार राहत रकम वितरण गरेको छ ।

शुक्रबार नगरपालिका कार्यालयको कार्यकक्षमा सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले अग्निपीडितलाई राहत स्वरुप तत्काल नगद १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार पूर्णरुपमा क्षति भएका २२ घर परिवारलाई जनही १० हजार तथा आंशिक रुपमा क्षति भएका २ घर परिवारलाई नगद ५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिएको नगर प्रमुख विमल आचार्यले जानकारी दिए ।

आगलागी पीडित राहत वितरण व्यवस्थापन समिति हेल्पडेक्सको व्यवस्थापनमा भएको राहत रकम वितरण कार्यक्रममा नगर प्रमुख आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य, विभिन्न वडाका वडाध्यक्ष, नगर सदस्य, विभिन्न राजनीतिक दलका नेता लगायतले सो रकम वितरण गरेका थिए ।

त्यसैगरी, नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय सहकोषाध्यक्ष रोशन अग्रवालले भानुटोलका अग्नी पीडितहरुलाई १६ थान कम्बल वितरण गरेका छन् । शनिवार विहान संघको तर्फबाट वितरित ती कम्बलको बजार मूल्य २० हजार रुपैयाँ रहेको छ ।