वार्षिक उत्सवमा अक्षयकोषका लागि १७ लाख घोषणा

आर्थिक समाचार बिद्यालय-कलेज समाचार

मेचीनगर / काँकरभिट्टा बहुमुखी क्याम्पसको २० औँ वार्षिकोत्सव तथा स्थापना दिवस शनिबार विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

क्याम्पसले वार्षिक उत्सवका अवसरमा ११ पुसदेखि विविध कार्यक्रम सञ्चालन गरेको थियो । क्याम्पस परिसरमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले कार्यक्रमको उद्घाटन गरेका थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिक उत्सव समापनका अवसरमा क्याम्पसका विद्यार्थी बीच आन्तरिक कविता प्रतियोगितामा प्रथम हुने मीना गिरी, दोस्रो हुने सुमी सतार तथा तेस्रो हुने अनिता धिमाललाई पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी, मेचीनगर स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो हुने क्रमशः आदर्श मावि आयावारी, नर्थ प्वाइन्ट मावि मेचीनगर र काँकरभिट्टा बहुमुखी क्याम्पसलाई समेत शिल्ड तथा प्रमाणपत्र प्रदान गरियो ।

मेचीनगर स्तरीय अन्तर मावि तथा क्याम्पस सुपर सिक्स क्रिकेट प्रतियोगितामा विजयी काँकरभिट्टा बहुमुखी क्याम्पसलाई नगद १० हजार
तथा उपविजेता काँकरभिट्टा माविलाई नगद ५ हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र प्रदान गरियो ।

यसैगरी, नगरस्तरीय अन्तर मावि नृत्य प्रतियोगितामा होलिवेल मावि धुलावारी प्रथम, इस्ट होराइजन मावि धुलावारी दोस्रो तथा नर्थ
प्वाइन्ट मावि काँकरभिट्टा तेस्रो भए । सबै विजयी विद्यार्थीहरुलाई शिल्ड प्रदान गरिएको थियो ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले क्याम्पसले स्थापना गरेको अक्षय कोषका लागि नगद २ लाख रुपैयाँ घोषणा गरेका छन् ।
क्याम्पस प्रमुख उप्रेतीका अनुसार हालसम्म कोषमा करिव ३५ लाख रुपैयाँ सब्कलन भएको र शनिबार मात्रै १७ लाख रुपैयाँ घोषणा भएको छ ।

नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, नेत्र नेपाल, नीलकण्ठ तिवारी, मोहनप्रकाश उप्रेती, सुशील आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।

क्याम्पस प्रमुख उप्रेती र वरिष्ठ अध्यापक लम्बोदर पौडेलले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा दुर्गाप्रसाद सापकोटाले स्वागत गरेका थिए ।