विश्वविद्यालय स्थापना गर्न झापाबाट सम्भाव्यता अध्ययन शुरु

शिक्षा समाचार

झापा /  प्रदेश नम्बर १ मा विश्वविद्यालय स्थापना गर्न झापाबाट सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।

प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय स्थापना गर्न गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलले बिहीबारदेखि झापाबाट अध्ययन सुरु गरेको हो ।

कार्यदलले बिहीबार झापाको बिर्तामोडमा अन्तरक्रियाको आयोजना गरी यहाँका विभिन्न राजनीतिक दलका नेतृत्व, सांसद, पूर्वमन्त्री, स्थानीय तहका जनप्रतिनिधि, प्राध्यापक, विद्यार्थी सङ्गठन तथा स्ववियुको प्रतिनिधित्वमा दृष्टिकोण संकलन गरेको छ ।

कार्यदलका संयोजक प्राडा महेशराज दाहालले विश्वविद्यालय स्थापना गर्न सरोकारवाला पक्षसँग परामर्श गरी सुझाव सड्ढलन गरिने बताए । ‘प्राप्त सुझावका आधारमा विश्वविद्यालय स्थापनाको काम अघि बढाइनेछ’, उनले भने, ‘झापाबाट अध्ययन सुरु गरेका छौँ, अन्य जिल्लामा पनि छलफल गरिनेछ ।’

कार्यदल सदस्य उमानाथ ओलीले हाल सञ्चालनमा रहेका विश्वविद्यालय, तिनका आङ्गिक वा सम्बन्धनप्राप्त कलेजको अध्ययन अध्यापनको शैलीमा रुपान्तरण गर्न आवश्यक रहेको महसुस गरेर नयाँ खुल्ने विश्वविद्यालयको समग्र विषय वस्तुबारे जानकारी लिइने बताए ।

छलफलमा सहभागीबाट विश्वविद्यालयको आवश्यकता, उपयुक्त मापदण्ड र ढाँचा, विश्वविद्यालय रहने स्थान, सङ्गठनात्मक स्वरुप, सड्ढाय, अध्ययन संस्थान एवम् वित्तीय पक्षका बारेमा सुझाव मागिएको थियोे ।