मानव बेचबिखनबारे अन्तरक्रिया

समाचार समाज

भद्रपुर / झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मानव बेचबिखन र महिला हिंसालाई न्यूनीकरण गर्न सबै सरोकारवाला एकजुट हुनु पर्ने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा शुक्रबार नारी एकता समूह बिर्तामोडद्वारा झापामा मानव बेचबिखनको बद्लिँदो अवस्था पहल गर्नुपर्ने कामहरुको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महताराले बेचबिखनमा परेका र घरेलु हिंसामा परेका महिलाको तत्काल गरिने उपचार र कानुनी उपचारको अधिकार संरक्षण गर्न एउटा सुरक्षित आवासगृहको आवश्यकता पर्ने र त्यसको लागि झापाका सबै स्थानीय सरकारको साझा कार्यक्रम बन्नुपर्ने बताइन् ।  उनले सो कार्यक्रममा बिर्तामोड नगरले आप्mनो दायित्व पूरा गर्ने बताइन् ।

झापाका प्रहरी प्रमुख भीमप्रपाद ढकालले मानव बेचबिखन र घरेलु हिंसालाई सहयोग गर्ने मदिरा, लागुऔषध र साइबरबाट हुने अपराधजन्य क्रियाकपलाई नियन्त्रण गर्न झापा प्रहरीले अभियान नै चलाउन लागेको बताए ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले नेपालमा मानव बेचविखनको अवस्था शैली र नियन्त्रणमा चालिने उपायहरुका बारेमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक मिरा भट्टराईले कार्यक्रमको उद्देश्यबारे बताएकी थिइन् ।