शहिद हरि नेपालको स्मृति दिवस मनाइयो

समाचार समाज

दमक / शहिद हरि नेपालको ३९ औं स्मृति दिवस शनिबार दमकमा मनाईएको छ । तत्कालीन पञ्चायती शसनले हत्या गरेका शहिद नेपालको सम्झनामा दमकमा कार्यक्रम गरिएको हो ।

शहिद हरि नेपाल स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले शहिदले देखाएको मार्गलाई भुल्न नहुनेमा जोड दिएका छन् ।

प्रतिष्ठानका अध्यक्ष नेत्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले देशका लागि आफूलाई सहादत गर्ने शहिदहरुको देनलाई अवमूल्यन गरिदैआएको औल्याए । शहिदको सपना साकार पार्न सवै विचलित हुनु नहुने उनीहरुको भनाई थियो ।

नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरेले शहिदको बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाको लागी परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिहरु एक हुनुको बिकल्प नभएको बताए ।

शहिदहरुको बलिदानीबाट अहिलेको राजनीतिक परिवर्तन संभव भएको भन्दै घिमिरेले शहिदले देखाएको मार्गबाट बिचलित हुन नहुने धारणा राखे ।

त्यसैगरी कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहालले जनताको अधिकार स्थापित गर्नको लागी प्राण आहुति गर्ने शहिदलाई कसैले बिर्सन नहुने बताए । उनले शहिदको सपना साकार पार्न यस्ता प्रतिष्ठानहरुले भुमिका खेल्नु पर्ने धारणा राखे ।

यसैवीच शनिवारनै भएको प्रतिष्ठानको प्रथम साधारणसभाले पुनः नेत्र दाहालको अध्यक्षतामा कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा बसन्त लक्ष्मी उदास, सचिवमा बिनोद तिम्सिना, सहसचिव राजकुमार अधिकारी र कोषाध्यक्ष बिप्लब दंगाल चुनिए भने सदस्यहरुमा देविमायाँ धिमाल, चन्द्रकला विक, निर्मला अधिकारी, नेत्र पोखरेल, गंगा दुलाल, डिल्ली दुलाल, ललित बिक र पुष्पलाल अधिकारी चयन भएको जनाईएको छ ।