पाँचौ धारागोला भ्यूटावर, जरेवर तथा बुद्धशान्ति महोत्सव शुरु

पर्यटन पर्यावरण समाचार

दिपेन लावती

शान्तिनगर / झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा शनिवारबाट पाँचौ धारागोला भ्यूटावर, जरेवर तथा बुद्धशान्ति महोत्सव शुरु भएको छ ।

शनिवार एक भब्य कार्यक्रमको आयोजना गरि ७ दिवसीय महोत्सवको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले महोत्सवको उद्घाटन गरे ।

महोत्सव आयोजक समितिका अध्यक्ष चक्र शेर्माको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष भुजेलको प्रमुख आतिथ्य तथा सात नम्वर वडाध्यक्ष मात्रिका प्रसाद पौडेल र तीन नम्वर वडाध्यक्ष कमल उप्रतीको बिशेष आतिथ्य रहेको थियो ।

भ्यूटावर निर्माण समितिका अध्यक्ष नीरकुमार सुवेदीले स्वागत गरेको कार्यक्रममा विभिन्न जातजातीको साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो । २०७१ सालदेखी लाग्दै आएको महोत्सवले यो बर्ष पनि निरन्तरता पाएको छ ।

निर्माणधिन भ्यूटावरको प्रचार÷प्रसारका लागि लाग्दै आएको महोत्सव यसवर्ष देखि बुद्धशान्ति गाउँपालिका भित्र रहेका दर्जनौ पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको हो ।

कार्यक्रममा विभिन्न संघ–सस्थाका प्रतिनीधि, स्थानीय जनप्रतिनीधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो । ३० बढि स्टल रहेको सो महोत्सवमा हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

यसका साथै रक्तदान, बुद्धशान्ति गाउँपालिका स्तरिय गायन तथा नृत्य प्रतियोगिता, कवि गोष्ठि, कृषि कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन हुनेछ ।

महोत्सव पुस २० गतेसम्म सञ्चालन हुने आयोजक समितिका सचिव सुमन लेप्चाले बताए ।

भ्यूटावरको निर्माण करिव ६० प्रतिशत सम्पन्न भएको छ । यस बर्ष गाउँपालिकाले ५० लाख रुपैया बजेट विनियोजन गरेको सोही कार्यक्रममा जानकारी दिइएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भुजेल, युवा सामाजिक ब्यक्तित्व चेतन ढुङ्गेलले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षक कनकराज राईले गरेका थिए ।