तमु ल्होसारमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश

झापा / राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा छुट्टा छुट्टै शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको उल्लेख छ ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देश दिँदै धर्मनिरपेक्ष हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको र सबै चाडपर्वको आफ्नै मौलिक विशेषता रहेको बताएका छन् ।

उनले मौलिक धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिंदै सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेको बताएका छन् ।

उनले विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्व विगतमा धेरै सक्रिय भए तर नेपालीको एकताले त्यस्ता तत्वको प्रयास कहिल्यै सफल हुन नसकेको भन्दै अब आर्थिक विकास र समृद्धिको यात्रा सरकारले प्रारम्भ गरेको स्पष्ट पारेका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान शुरु गरेकाले यसलाई सफल बनाउन तमु समुदायले सरकारसँग सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।