महिला वन उपभोक्ताले पाए अचार बनाउने तालिम

आर्थिक समाचार रोजगार समाचार

भद्रपुर / झापा भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले महिला उपभोक्ताहरुलाई अचार बनाउने तालिम प्रदान गरेको छ ।

समूहको वार्षिक कार्ययोजना अनुसार गरिबी न्यूनिकरण कार्यक्रमअन्तर्गत ४० जना महिला उपभोक्तालाई अचार बनाउने तालिम दिइएको कार्यक्रम संयोजक तथा समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए । शुक्रबार शुरु भएको तालिम आइतबार सकिएको हो ।

सहभागीहरुलाई झापाको अर्जुनधारास्थित शिव बाबा अचार तथा जुस उत्पादन उद्योगका सञ्चालक अचारविज्ञ दिनानाथ शिवाकोटीले अचार बनाउने तालिम प्रदान गरेका थिए ।

शुक्रबार कार्यक्रम संयोजक खतिवडाको अध्यक्षतामा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले तालिमको उद्घाटन गरेका थिए ।

सो अवसरमा समूहका अध्यक्ष हिराप्रसाद पोखरेलले चन्द्रगढी वन उपभोक्ता समूहमा आबद्ध उपभोक्ता गृहिणी महिलालाई पनि स्वरोजगार बनाउने उद्देश्यले सो तालिम प्रदान गरिएको जानकारी दिए ।

उनले समूहले सामाजिक उत्तरदायित्वअन्तर्गतका अन्य थुप्रै क्रियाकलाप गरेको र गर्दै जाने पनि उपभोक्तामाझ जानकारी गराए ।

प्रमुख अतिथि श्रेष्ठले लघु उद्यमहरुबाट स्वरोजगार बन्न सकिने उल्लेख गर्दै सानो पूँजीमा पनि त्यस्ता उद्योग सञ्चालन गरेर आर्थिक उपार्जन गर्न सकिने बताए ।

उनले महिलाहरुलाई समूहमा आयमूलक प्रशिक्षण दिन नगरपालिकाले पनि भूमिका खेलिरहेको बताए ।

आइतबार समापनका अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रम संयोजक खतिवडाले जानकारी दिए ।