दमकमा हुनेभो चिकेन फेस्टिवल

आर्थिक समाचार कृषि समाचार

दमक / छैठौ राष्ट्रिय पोल्ट्रि दिसवका अवसर पारेर दमकमा तीन दिने चिकेन फेस्टिवल हुने भएको छ ।

यहि पुस १७ देखि १९ गतेसम्म दमकमा चिकेन फेस्टिवलसहित सांस्कृतिक कार्यक्रम हुने भएको आयोजक झापा जिल्ला अण्डा उत्पादक व्यवसायी संघले जनाएको छ ।

आइतबार दमकमा पत्रकार सम्मेलन गरि फेस्टिवलको सम्पूर्ण तयारी भईरहेको कार्यक्रम संयोजक माधव पराजुलीले बताए ।

उनले पोल्ट्री दिवसको उद्घाटन कार्यक्रम रेडक्रसको सभाहलमा हुने र चिकेन फेस्टिवलसहितका सांस्कृतिक कार्यक्रमहरु भने दमक ६ स्थित नमुना मार्गमा सञ्चालन हुने जानकारी दिए ।

पोल्ट्री व्यवसायको वजार प्रवद्र्धनमा सघाउ पुरयाँउने उद्देश्यले चिकेन फेस्टिबल गर्न लागिएको उनले जनाए ।

दिउँसो ३ वजेदेखि संगीतमय उक्त फेस्टिवलमा कुखुराका अण्डा ,मासुको परिकारसहित त्यसको महत्वका बारेमा समेत जानकारी दिने कार्यक्रम रहेको जनाइएको छ ।

फेस्टिवलको कृषि तथा पशु विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक झापा जिल्ला अण्डा उत्पादक व्यवसायी संघका सचिव राजेन्द्र भण्डारीले बताए ।